कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ आज

प्रधानमन्त्री ओलीको शपथ बिहान ११ बजे शितलनिवासमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ आज हुँदैछ । शपथ आज बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष समेत रहेका ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आईतबार प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज अपराह्न ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।

राष्ट्रपतिले दाबी पेस गर्न आह्वान गरे लगत्तै काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले दलका नेताका हैसियतमा संसद्को बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि शुक्रबार नै दाबी पेस गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया