काठमाण्डौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठक मंगलबार खास एजेन्डामा प्रवेश नगरी प्रधानमन्त्रीको राजीनामा केन्द्रित भएको छ । बैठक सुरु भएलगत्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले प्रधानमन्त्रीले तत्कालै राजीनामा दिनुपर्ने माग गरेका थिए ।
“अब तपाइँ हट्नुस्,” नेकपाका अध्यक्ष दाहालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “सरकारले डेलिभरी दिन सकेन । अब सरकारमा बस्नुको औचित्य छैन । पहिला पनि मैले राजीनामा मागेको हुँ, अहिले पनि भन्छु अब तपाइँ प्रधानमन्त्रीबाट हट्नुस् ।”
दाहाललाई नेताहरु नेपाल, खनाल र गौतमले साथ दिएका थिए । त्यसलगत्तै बोलेका नेताहरुले प्रधानमन्त्रीले तत्कालै राजीनामा दिनुपर्ने माग गरेका थिए । “हामीले नै तपाइँलाई हटाउन खोजेको हो,” शीर्ष नेताहरुको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “अहिले दूतावासले हटाउन खोज्यो भन्नुको कुनै अर्थ छैन । सरकारले काम गर्न सकेन । प्रधानमन्त्रीले काम गर्न सक्नुभएन ।”
प्रधानमन्त्री ओलीले नेताहरुलाई जवाफ दिने क्रममा स्थायी कमिटीमा उठेका विषयहरु जस्ताको त्यस्तै दिल्लीका मिडियामा आएको भन्दै नेताहरुको आलोचना गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया