काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक अवस्था, संसद्को वर्तमान गतिविधि तथा कानून निर्माण प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद्को भूमिका तथा लोकतान्त्रिक संस्थाहरूलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो। संसदीय प्रक्रियालाई थप प्रभावकारी बनाउँदै जनअपेक्षा अनुरूप कानून निर्माणलाई गति दिनुपर्ने विषयमा दुवै पक्षबीच छलफल भएको जनाइएको छ।
भेटका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको राजनीतिक स्थिरता लोकतन्त्रको सुदृढीकरणका लागि अत्यावश्यक रहेको उल्लेख गर्दै संसद्ले आफ्नो संवैधानिक जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। उनले जनहितका कानून निर्माणमा राजनीतिक दलहरूबीच सहकार्य र सहमतिको वातावरण आवश्यक रहेको धारणा राखेको सचिवालयले जनाएको छ।
त्यसैगरी, कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले संसद्मा प्रमुख प्रतिपक्षको भूमिकालाई जिम्मेवार र रचनात्मक ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठाइने बताएका छन्।
राष्ट्रपति र प्रमुख प्रतिपक्षी दलका नेताबीच भएको यो भेटलाई पछिल्लो राजनीतिक घटनाक्रमका बीच अर्थपूर्ण रूपमा हेरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया