कार्तिक १, २०८३ शनिबार October 17, 2026

प्रधानमन्त्री बालेन्द्र शाहको बडादसैँ शुभकामना : सत्य, सुशासन र समृद्धिको बाटोमा अघि बढ्न आह्वान

रोजगारी र जीविकोपार्जनका लागि ठूलो सङ्ख्यामा नेपाली विदेशिन बाध्य भएको अवस्थाप्रति चिन्ता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले बडादसैँको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, आरोग्य र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ।

बडादसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले दसैँले विश्वभर छरिएर रहनुभएका नेपाली समुदायलाई एकताबद्ध गर्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले दसैँलाई धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्व बोकेको एकता, आत्मीयता र पारिवारिक मिलनको पर्वका रूपमा उल्लेख गर्नुभएको छ।

टीका र जमरा ग्रहण गरी ठूलाबाट आशीर्वाद लिने तथा सानालाई माया र ठूलालाई आदर गर्ने परम्पराले नेपाली समाजको मौलिक संस्कृतिलाई प्रतिबिम्बित गर्ने उहाँले बताउनुभएको छ।

यस वर्ष रसुवा, नुवाकोट, गोरखालगायतका जिल्लामा भएका प्राकृतिक विपद्का कारण उत्पन्न शोक र क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री शाहले ज्यान गुमाउनुभएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उहाँले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। साथै, विपद्बाट विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको जानकारी पनि दिनुभएको छ।

प्रधानमन्त्री शाहले दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा व्याख्या गर्दै प्रत्येक व्यक्तिले आफूभित्र रहेका काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारजस्ता प्रवृत्तिमाथि विजय प्राप्त गर्नुपर्ने बताउनुभएको छ। उहाँले समाजमा सत्य, सदाचार र सकारात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ।

चाडपर्वका बेला गाउँघरका घरआँगन उजाडिँदै गएको तथा रोजगारी र जीविकोपार्जनका लागि ठूलो सङ्ख्यामा नेपाली विदेशिन बाध्य भएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले आर्थिक बाध्यताका कारण दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताउनुभएको छ।

हरेक नागरिकको आर्थिक सम्पन्नताले चाडपर्वको रौनक बढाउने उल्लेख गर्दै प्रधानमन्त्री शाहले देशको समृद्धि, नागरिकको सुखद जीविकोपार्जन र सुशासनका लागि सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभएको छ।

सत्यको विजयको सन्देशलाई व्यवहारमा उतार्दै सुशासनको मार्गमा अघि बढ्न माता दुर्गाभवानीबाट सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दै उहाँले सभ्य र भव्य रूपमा बडादसैँ मनाउन सबैमा आग्रह गर्नुभएको छ।

प्रधानमन्त्री शाहले माता दुर्गाभवानीले सबैको रक्षा गरून् भन्दै सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्साल (अन्तवार्ता)
२०८३ कार्तिक १, शनिबार
वीरगञ्जका मुख्य सडक विस्तार हुँदै
२०८३ कार्तिक १, शनिबार
बजेट कटौतीको प्रस्तावमा ईयू सदस्य राष्ट्रबीच असहमति
२०८३ कार्तिक १, शनिबार
दशैं तिहारमा उपहार, नगद र सुविधा नलिन-नदिन रास्वपाको अपिल
२०८३ कार्तिक १, शनिबार
सात जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
२०८३ कार्तिक १, शनिबार
प्रधानमन्त्री बालेन्द्र शाहको बडादसैँ शुभकामना : सत्य, सुशासन र समृद्धिको बाटोमा अघि बढ्न आह्वान
२०८३ कार्तिक १, शनिबार
प्रम कार्यालयमै अढाइ लाख तलब
२०८३ कार्तिक १, शनिबार