असोज २६, २०८३ सोमबार October 12, 2026

बूढीगण्डकीका प्रभावित क्षेत्रमा खोजी तथा उद्धार जारी राखेका छौं : प्रधानमन्त्री

प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ४३७ जना सुरक्षाकर्मी परिचालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सरकारका निकायहरू परिचालन गरिएको बताएका छन्। बाढीमा परी पाँच जना बेपत्ता भएको जानकारी दिँदै उनले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार जारी रहेको बताएका हुन्।

आइतबार साँझ फेसबुकमार्फत घटनाबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले गोरखाको चुमनुव्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच गएको पहिरोका कारण बूढीगण्डकी नदीमा बाढी आएको र त्यसले तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको उल्लेख गरेका छन्।

उनका अनुसार बाढीले झोलुङ्गे तथा पक्की पुल, टेलिफोन टावर, बिजुलीका पोल, निर्माणाधीन बूढीगण्डकी हाइड्रोको क्याम्प क्षेत्र, निर्माण उपकरण र आसपासका घरहरू बगाएको छ।

प्रधानमन्त्रीले बाढीको सूचना प्राप्त हुनासाथ सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायहरूलाई प्रतिकार्यमा परिचालन गरिएको बताएका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ४३७ जना सुरक्षाकर्मी खटिएका छन् भने नेपाली सेनाका चारवटा हेलिकोप्टर पनि परिचालन गरिएको छ।

बाढीमा बेपत्ता भएकाहरूको खोजी भइरहेको छ। यसैबीच, गोरखाको सल्लेरीस्थित निर्माणाधीन बूढीगण्डकी हाइड्रोका १२ कर्मचारीसहित ४८ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

सम्भावित जोखिमबारे पूर्वसूचना दिन गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासीका जिल्लामा २२१ जना प्रतिकार्यकर्तालाई तत्काल परिचालन हुन एसएमएस पठाइएको थियो। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र बाढी पूर्वानुमान महाशाखामार्फत गोरखादेखि चितवनको बेनिघाटसम्मका सर्वसाधारणलाई दुई चरणमा करिब दुई लाख एसएमएस पठाएर पूर्वसूचना सम्प्रेषण गरिएको पनि उनले बताएका छन्।

बाढीको कारण पत्ता लगाउन भूगर्भविद्सहित तीन सदस्यीय विज्ञ टोली ड्रोनसहित परिचालन गरिएको छ। सडक सञ्चालन तथा क्षतिग्रस्त पूर्वाधार पुनःनिर्माणका लागि सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागका अधिकारीहरू पनि प्रभावित क्षेत्रमा खटिएका छन्। आरुघाटमा बेलिब्रिज जडानको तयारीसमेत थालिएको प्रधानमन्त्रीले बताएका छन्।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन र क्षतिग्रस्त पूर्वाधार पुनः सञ्चालनमा ल्याउन सरकारले आवश्यक कदम अघि बढाएको उल्लेख गर्दै बूढीगण्डकी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल तथा सडक प्रयोग नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको च्यासलस्थित केन्द्रीय कार्यालयबाट सुरक्षाकर्मी फिर्ता
२०८३ असोज २६, सोमबार
मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषद्‌बाट पारित भइसक्यो : स्वास्थ्यमन्त्री मेहता
२०८३ असोज २६, सोमबार
क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य
२०८३ असोज २६, सोमबार
मध्यपहाडी राजमार्गको कालोपत्र गर्ने काम अनिश्चित
२०८३ असोज २६, सोमबार
सुनको मूल्य ह्वात्तै घट्यो, चाँदी कति पुग्यो ?
२०८३ असोज २६, सोमबार
पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता चाहिन्छः प्रधानमन्त्री शाह
२०८३ असोज २६, सोमबार
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
२०८३ असोज २६, सोमबार