भाद्र १, २०८३ सोमबार August 17, 2026

दमौली अस्पतालमा सर्पदंशको उपचार केन्द्र बनाइने

सर्पदंशका बिरामीलाई उपचार गर्ने सामग्री नभएकाले अन्यत्रै पठाउनुपर्ने बाध्यता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा सर्पदंशको उपचार केन्द्र सञ्चालन गरिने भएको छ । व्यास नगरपालिकाको सहयोगमा अस्पतालमा सर्पदंशको उपचार केन्द्र सञ्चालन गर्न लागिएको हो ।

सर्पले टोकेका बिरामीको उपचारका लागि जिल्लाभर नै उपचार केन्द्र नरहेकाले सदरमुकामको अस्पतालमा उपचार केन्द्र सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिनुभयो । त्यसका लागि अस्पतालमा आवश्यक पूर्वाधारमा नगरपालिकाले सहयोग गर्नेछ ।

उहाँले भन्नुभयो, “सर्पले टोकेका बिरामीको उपचारका लागि पोखरा, चितवन वा अन्यत्रै जानुपर्ने बाध्यता छ, दमौलीमा उपचार केन्द्र सञ्चालन गर्न सकिए सर्पदंशपीडितलाई राहत पुग्नेछ ।”

दमौलीमा अस्पतालमा वार्षिक रुपमा करिब ५० जना सर्पदंशका बिरामी आउने गरेको र त्यस्ता बिरामीलाई पोखरा वा चितवन पठाउने गरिएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिनुभयो । यहाँ सर्पदंशका बिरामीलाई उपचार गर्ने सामग्री नभएकाले अन्यत्रै पठाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया