काठमण्डाैंः भारतबाट आएका व्यक्तिहरूको व्यवस्थापनसँगै कोरोना नियन्त्रणमा सक्रिय रहेका साँफेबगर नगरपालिकाका एक वडा अध्यक्षमा समेत कोरोना पुष्टि भएको छ । साँफेबगर नगरपालिका एक वडा अध्यक्षलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
असार ५ गते स्वाब सङ्कलन गरेर सेती प्रादेशिक अस्पताल धनगढी पठाइएकोमा मङ्गलबार प्राप्त रिपोर्टमा वडा अध्यक्षसहित १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । स्वाब सङ्कलनको अघिल्लो दिन वडासभा, असार १० गतेको नगरसभा र वडामा मङ्गलबार दिउँसोसम्म सक्रिय रहेको भए पनि हाल वडामै रहेको विद्यालयको आइसोलेसन कक्षमा बस्नुभएकाे वडा अध्यक्षले जानकारी दिनुभयो ।
यस्तै, कोरोना आशङ्का गरिएका व्यक्तिको स्वाब सङ्कलनमा साँफेबगर क्षेत्रमा खटिएका २३ वर्षीय स्वास्थ्यकर्मीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मीलाई समेत विद्यालयमै रहेको आइसोलेसनमा राखिएको बताइएको छ । ल्याबमा काम गर्ने ती स्वास्थ्यकर्मी पछिल्लो समय वडाका विभिन्न स्थानमा पुगेर थ्रोट स्वाब सङ्कलनमा संलग्न रहेकाे बताइएको छ ।
अछाममा हालसम्म २४ घण्टाको फरकमा ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको पहिलो पटक हो । साँफेबगर नगरपालिकाका विभिन्न वडामा ४७ पुरुष र १८ महिलामा कोरोना सङ्क्रमण भएको पाइएको स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ ।
धनगढी प्रयोगशालामा १२४ जनाको स्वाब परीक्षणमा साँफेबगर नगरपालिका-११ देवीस्थानमा १८ जना, वडा नं. ९ बुढाकोटमा १५ जना, वडा नं. ३ सिद्धेश्वर र वडा नं. १३ बाब्लामा सात/सात जना, वडा नं. १० घुघुरकोटमा पाँच जना कोरोना सङ्क्रमित भेटिएको स्वास्थ्य कार्यालय अछामले जनाएकाे छ । यस्तै, साँफेबगर नगरपालिका–१ वैजनाथमा चार जना, वडा नं. ८ चण्डिकामा तीन जना, वडा नं. २ जाल्पादेवी र वडा नं. ७ रिडिकोटमामा दुई/दुई जना, वडा नं. ५ नवाठाना, वडा नं. ६ भाग्यश्वरमा एक/एक जना सङ्क्रमित पुष्टि भएको बताइएको छ ।
यस्तै, रामारोशन गाउँपालिकामा समेत एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसअघि पुष्टि भएका १२४ जनासहित अछाममा कोरोना सङ्क्रमितकाे हुने सङ्ख्या १९० जना पुगेकाे छ । हालसम्म २४ जना कोरोना जितेर घर फर्किसकेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया