कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सञ्चारमन्त्रीसमक्ष राससको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत

सरकार र जनताबीचको पुलका रुपमा काम गर्नुपर्नेमा मन्त्री सुब्बाको जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष राष्ट्रिय समाचार समिति (रासस)को कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

मन्त्री गुरुङलाई आज मन्त्रालयमा भेटगरी अध्यक्ष झाले राससले आव २०८०/८१ मा सम्पादन गरेका क्रियाकलाप समेटिएको सो प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । सो अवसरमा मन्त्री गुरुङले तथ्यसत्य र विश्वसनीय समाचार सम्प्रेषण गर्दै आएको राससले सम्पादन गरेका कार्यबाट आफू प्रभावित भएको र आगामी दिनमा पनि अझ रचनात्मक कार्य गर्न निर्देशन दिनुभयो ।

रासस मिडियाहरूको पनि मिडिया भएको उल्लेख गर्दै उहाँले सरकार र जनताबीचको पुलका रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यकारी अध्यक्ष झाले मन्त्रालयको सहयोग र समन्वयमा राससले सूचना सम्प्रेषण र भौतिक पूर्वाधार विकासमा पर्याप्त कार्य गर्न सकेको बताउँदै चालु आवमा २४ घण्टे समाचार सेवा र  कम्तीमा दुई मातृभाषामा समाचार बुलेटिन एवं मिडिया सङ्ग्रहालय स्थापना गर्न लागेको जानकारी दिनुभयो ।

त्यस अवसरमा राससका महाप्रबन्धक सिद्धराज राई, सञ्चालक समिति सदस्य कृष्ण अधिकारी र प्रशासन प्रमुख शीतलप्रसाद महतो पनि सहभागी हुनुहुन्थ्यो ।

आजै कार्यकारी अध्यक्ष नेतृत्वको राससको टोलीले मन्त्रालयका सचिव राधिका अर्यालसँग पनि भेटगरी उहाँलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवको जिम्मेवारी लिनुभएकामा हार्दिक बधाई ज्ञापन गर्दै राससबारेमा अवगत गराएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया