रुपन्देही । लुम्बिनी प्रदेश सरकारले सरकारी अस्पतालको नाम र पद प्रयोग नगर्ने गरी चिकित्सक तथा सबै स्वास्थ्य कर्मचारीहरूलाई आदेश दिएको छ । स्वास्थ्य मन्त्रालयको साउन २८ को मन्त्रीस्तरीय निर्णय कार्यान्वयन गर्दै सरकारी नियुक्ति लिएका चिकित्सक, कर्मचारीहरूले आफ्नो नाम, पदम तथा एनओसी नम्बर नीजि क्लिनिकमा प्रयोग गर्न नपाउने नियम बनाएको हो ।
प्रदेशका स्वास्थ्य सचिव डा. वासुदेव उपाध्यायले प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले आफू कार्यरत सरकारी अस्पतालको नाम र पद प्रयोग गरी नीजि स्वास्थ्य संस्थाको ओ. पि. डि टिकट, साइन बोर्ड, आमसञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत प्रचार प्रसार गर्ने गरेको पाइएकाले त्यसलाई रोक्न यस्तो निर्णय गरिएको बताउनुभयो ।
उहाँले अब त्यस्तो क्रियाकलापहरू नगर्न नगराउन र गरेको भए हटाउने व्यवस्था मिलाउन आफू मातहतका सम्पूर्ण कर्मचारीहरूलाई जानकारी गराई कडाइका साथ यो निर्णय पालना गराउन को लागि सबै अस्पताललाई पत्र पठाइएको जानकारी दिनुभयो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई स्वास्थ्य मन्त्रालयले नियमको पूर्ण पालन गर्न भन्दै साउन २८ गते पत्र नै पठाएको छ । प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले धेरै स्वास्थ्यकर्मी कमाउने चाहनामा सुगममै बसेर दुर्गममा ध्यान नदिएको र अस्वस्थ प्रतिस्पर्धा पनि बढेकाले यसो गरेको बताउनुहुन्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया