कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

संविधान दिवसमा माफी पाएर रिहा हुँदै एक हजारभन्दा बढी कैदी (सूचीसहित)

अब सात दिने उजुरीको समय गुज्रिएपछि कैदीहरूको सजाय माफीका लागि गृहमन्त्रालयमार्फत सरकारकहाँ सिफारिस गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः सरकारले आगामी असोज ३ गते पर्ने संविधान दिवसका अवसरमा एक हजारभन्दा बढी कैदीको बाँकी सजाय मिनाहा गरेर छाड्ने तयारी गरेको छ ।

असोज ३ गते संविधान दिवसका अवसरमा उनीहरूलाई सजाय मिनाहा गरेर थुनामुक्त गर्न लागिएको हो । थुनामुक्त हुनेहरूको सूची कारागार व्यवस्थापन विभागले बिहीबार सार्वजनिक गरेको छ।

विभागले यसअघि गत असार ९ गते ७ दिने सार्वजनिक सूचना निकालेर ६२० जना कैदीको सजाय मिनाहाका लागि नामावली प्रकाशित गरेको थियो ।ती ६२० जना छुट्न बाँकी नै छ । विभागले मंगलबार थप ४९२ जनाको नामावलीसहित थुनामुक्त हुनेहरूको सूचीसहित ७ दिने सूचना निकालेको छ ।

सजाय मिनाहा गर्न लागिएका कैदी बन्दीहरूविरुद्ध उजुरी वा गुनासो भए विभागमा उपलब्ध गराइदिन भनिएको छ । विभागले गत असार ९ गते र भदौ १६ गते सूचना निकालिएका कैदीहरूलाई संविधान दिवसका दिन माफी मिनाहाका लागि एकसाथ सिफारिस गरिने जनाएको छ ।

सरकारले खासगरी जेठ १५ गतेको गणतन्त्र दिवस र असोज ३ गतेको संविधान दिवसमा अनुशासन र आचरण हेरेर सयौँ कैदीलाई रिहा गर्दै आएको छ । तर यस पट गत जेठ १५ गतेको गणतन्त्र दिवसका दिन पनि कैदीको सजाय माफी मिनाहा हुनुपर्ने थियो । सर्वोच्च अदालतको आदेशपछि नियमावली संशोधनमा जाँदा रिहा गर्न नसिएको थियो । अब अहिले नामावाली प्रकाशित गरेर एक हजारभन्दा धेरै कैदीको सजाय माफी गर्न लागिएको हो ।

सूचनाअनुसार परेका उजुरीका आधारमा विभागले असार ९ मा प्रकाशित ६२० जनाबाट १९ जनाको नाम हटाएको छ । असार ९ र भदौ १६ सहित हजारबढीले यस पटक माफी मिनाहा पाउने छन् ।

अब सात दिने उजुरीको समय गुज्रिएपछि कैदीहरूको सजाय माफीका लागि गृहमन्त्रालयमार्फत सरकारकहाँ सिफारिस गरिने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया