असार २८, २०८२ शनिबार July 12, 2025

यस पटकको विद्याभूषण र विद्यापदक पनि उधारोमै

सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, भदौ ३० गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस पटक पनि नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा पदक उधारोमा वितरण गर्ने भएको छ ।

विगतमा शिक्षा दिवसको दिन विशेष कार्यक्रम गरेर वितरण गर्दै आएका ती पदक पाउन योग्य ठहरिएका व्यक्तिहरूको नामावली मन्त्रालयले आफ्नो वेबसाइटमा मात्रै राख्ने निर्णय गरेको छ । स्रोत अभावमा गत वर्ष पनि मन्त्रालयले ती पदक वितरण गरेको थिएन । त्यसभन्दा अघि पनि कोरोनालगायतका कारण पदक वितरण हुन सकेको थिएन ।

सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउँदै आएको छ । उक्त दिन मन्त्रालयले नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’, नेपाल छात्रा विद्यापदक ‘क’ र ‘ख’ तथा नेपाल प्रविधि विद्याभूषण पदक वितरण गर्ने गरेको थियो । मन्त्रालयले गत २०८० भदौ ३१ गते ९६२ जनालाई नेपाल विद्याभूषण, नेपाल छात्रा विद्यापदक र नेपाल प्रविधि विद्याभूषण प्रदान गर्ने भनी नाम सार्वजनिक गरेको थियो । स्रोत व्यवस्थापन हुन नसक्दा ती सर्वोत्कृष्ट विद्यार्थीलाई हालसम्म पुरस्कृत गरिएको छैन ।

मन्त्रालयले यस पटक पनि सोही दिन पदक वितरण गर्ने भन्दै पदक लिन योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको थियो । गत वर्ष बाँकी रहेको ९६२ जनासहित यस पटक थप तीन सय जनालाई पदक वितरण गर्नुपर्ने देखिएको मन्त्रालयको विद्यालय शिक्षा शाखाले जनाएको छ ।

मन्त्रालयका अनुसार पदकका लागि ६० लाख रुपियाँ बजेट छुट्याइएको छ तर गत वर्षसम्म बाँकी रहेका र यस पटक वितरण गर्नुपर्नेसमेतलाई वितरण गर्नुपर्ने पदकका लागि छ करोड रुपियाँभन्दा बढी लाग्ने मन्त्रालयको अनुमान छ । मन्त्रालयका उपसचिव परशुराम तिवारीले शिक्षा दिवसका दिन ती पदक वितरण नगरिने निर्णय भएको बताउनुभयो । उहाँका अनुसार शिक्षा दिवसका दिन वितरण हुन नसक्ने पदक केही समयपछि शिक्षासँग सम्बन्धित कुनै दिवस वा सन्दर्भ पारेर प्रदान गरिने बताउनुभयो ।

मन्त्रालयले विद्यावारिधि उपाधि हासिल गरेकालाई नेपाल विद्याभूषण ‘क’ बाट, स्नातकोत्तर तहमा सर्वोत्कृष्ट हुनेलाई नेपाल विद्याभूषण ‘ख’ बाट, स्नातक तहमा सर्वोत्कृष्ट हुनेलाई नेपाल विद्याभूषण ‘ग’ वितरण गर्दै आएको छ ।

त्यस्तै स्नातक तहमा सर्वोत्कृष्ट हुने छात्रालाई नेपाल छात्रा विद्यापदक ‘क’ बाट, कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट हुने छात्रालाई नेपाल छात्रा विद्यापदक ‘ख’ बाट र प्राविधिक शिक्षामा स्नातक वा सोभन्दा माथि सर्वोत्कृष्ट हुनेलाई नेपाल प्रविधि विद्याभूषणबाट पुरस्कृत गर्ने व्यवस्था छ । नेपाल प्रविधि विद्याभूषण गत वर्ष नयाँ थपिएको हो र कृषि, पशु विज्ञान, चिकित्साशास्त्र, इन्जिनियरिङ, वन विज्ञान एवं विज्ञान तथा प्रविधि विषयमा सर्वोत्कृष्ट हुनेलाई यो पुरस्कार उपलब्ध गराइन्छ ।

तर विगतदेखि पदक वितरण गर्न नसकिएको र पर्याप्त बजेटसमेत नभएका कारण यो कार्य अनिश्चित जस्तै देखिएको छ । तिवारीका अनुसार अहिले पनि पदक वितरणका बारेमा सर्वसाधारणले दिनहुँजसो सोध्ने गरेका छन् । उहाँले भन्नुभयो, “पदक पाउन योग्य व्यक्तिबाट दिनहुँजसो सोधखोज भइरहेको छ । उहाँहरूको चासोलाई सम्बोधन गर्न भए पनि अर्को कुनै दिन वितरण गर्नुपर्ने देखिन्छ ।” गोरखापत्रबाट 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार