कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावितलाई ५० लाख सहयोग गर्ने

गण्डकी प्रदेशभित्र विपद्का कारण भएको क्षतिको अध्ययन गर्न समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गण्डकी प्रदेश सरकारले बाढी, पहिरो प्रभावित नागरिकको सहायताका लागि रु ५० लाख सहयोग गर्ने निर्णय गरेको छ।

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए। अघिल्लो साता परेको वर्षाले उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी, पहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैठकले बेपत्ताको खोजी, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।

विपद्का कारण काठमाडौं उपत्यकासहित देशभर ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै मुख्यमन्त्री पाण्डेले विपत्तिको सामना सबै मिलेर गर्नुपर्छ भन्ने उद्देश्यका साथ प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको बताए। यसअघि जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितहरूका लागि गण्डकी प्रदेश सरकारले रु एक करोड सहयोग गरेको थियो। प्रदेश सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत, पुनःनिर्माणलगायत कार्यमा संघीय सरकारसँग आवश्यक समन्वय गर्ने जनाएको छ।

बैठकले गण्डकी प्रदेशभित्र विपद्का कारण भएको क्षतिको अध्ययन गर्न समिति गठन गरेको छ । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा प्रेरणा सेढाईंको संयोजकत्वमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सिडिई हरिदत्त पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकाल सदस्य रहेको समिति गठन गरिएको हो। समितिले प्रदेशभर विपद्ले पुर्‍याएको क्षतिको मूल्यांकन गरी १५ दिनभित्र सुझावसहितको प्रतिवेदन प्रदेश सरकारसमक्ष पेस गर्ने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया