श्रावण ५, २०८२ सोमबार July 21, 2025

अबका निर्वाचनमा सबै तहमा माओवादी केन्द्र एक्लै लड्छ : प्रचण्ड

कांग्रेस र एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको स्वीकारोक्ती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबका निर्वाचनमा पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने बताएका छन् । दोलखा-काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार गरेको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको उनको भनाइ छ । अध्यक्ष दाहालले अब देशब्यापीरुपमा एकल प्रतिष्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने बताए ।

आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियान र त्यसकै कारण सरकारबाट हटाइएकाले जनतामा माओवादीप्रति नयाँ आशा र आकर्षण पैदा भएको दाहालको दाबी छ । उनले आगामी निर्वाचनमा एक्लै विजय प्राप्त गर्ने तयारी थाल्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

पछिल्लो समय टानलगायतका कतिपय संस्थामा कांग्रेस-एमाले मिल्दा पनि माओवादी एक्लैले चुनाव जितेको उल्लेख गर्दै अध्यक्ष दाहालले अहिले देशब्यापीरुपमा देखिएको जनताको आशा र आकर्षणलाई संगठन निर्माण र जनपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउनुपर्ने बताए ।

पछिल्लो समय प्राकृतिक प्रकोपका कारण सिर्जना भएको संकट समाधानका लागि पार्टीले महत्वपूर्ण पहलकदमी लिएको भन्दै उनले जनताको सेवा गर्ने अधिकारलाई कसैले खोस्न नसक्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया