कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुशासन प्रवर्द्धनका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण – मुख्य सचिव अर्याल

प्राविधिक तथा वातावरणीय परीक्षणविना धादिङको झ्याप्ले खोलामाथि सडक बनाइएका कारण ठूलो मानवीय क्षति भएको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज २३ गते । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले सुशासन प्रवर्द्धनमा सञ्चारकर्मी एवं सञ्चार जगतको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ ।

आज तराई विकास तथा सञ्चार केन्द्रले यहाँ आयोजना गरेको सुशासन प्रवर्द्धनमा नीति निर्माण तहका पदाधिकारीहरुको भूमिका विषयक छलफल तथा विजया दशमी २०८१ को शुभकामना आदानप्रदानमा बोल्दै मुख्य सचिव अर्यालले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “सुशासन प्रवर्द्धन तथा नीति निर्माण तहमा हाम्रो भूमिका सकारात्मक छ । अहिले सञ्चार माध्यममा आएका कुरा पाठकले झट्टै विश्वास गर्ने भएकाले सुशासन प्रवर्द्धनमा कलम चलाएको खण्डमा हामीलाई अझ सहज हुन्छ ।”

मुख्य सचिव अर्यालले प्राविधिक तथा वातावरणीय परीक्षणविना ग्रामीण क्षेत्रमा निर्माण गरिएका सडकलगायतका संरचनाका कारण यसपटक बाढीपहिरोबाट ठूलो क्षति बेहोर्नुपरेको बताउनुभयो । प्राविधिक तथा वातावरणीय परीक्षणविना धादिङको झ्याप्ले खोलामाथि सडक बनाइएका कारण ठूलो मानवीय क्षति भएको उहाँको भनाइ थियो । यसैगरी दसैँ, तिहार लगायतका मुख्य चाडपर्वका समयमा केही वर्गले दैनिक उपभोग्य वस्तुमा महँगी बढाउने, गाडीको भाडा दोब्बर बढाउने गरेको गुनासो आएकाले त्यस्ता व्यक्तिलाई कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको जानकारी दिनुभयो ।

यसैगरी, बाढीपहिरोका कारण क्षति पुगेका ठाउँमा कमाण्ड पोष्ट खडा गरेर सडक सञ्चालन भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो । सडक खुलाउने काममा खटिएका टिमलाई दसैँको टीकाको दिनबाहेक अन्य दिन बिदा नदिने निर्णय भएको उहाँले बताउनुभयो ।

उक्त कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सुमित्रा अमात्यले सुशासन प्रवर्द्धनको अनुभूति हुने काममा सरकारले जोड दिनुपर्ने बताउनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया