कार्तिक २९, २०८३ आइतबार November 15, 2026

पितृका सम्झनामा माझी समुदायले पितरा पर्व मनाउँदै

पर्व मनाउने क्रममा कुनै एक ब्यक्तिले ‘मरेको अभिनय’समेत गर्ने गरिने प्रचलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काभ्रेपलाञ्चोक, १९ कात्तिकः जिल्लाका माझी समुदायले ‘पितरा पर्व’ मनाइरहेका छन् । अन्य समुदायमा मानिस मरेपछि वार्षिक पुण्य–तिथिमा श्राद्ध गर्ने चलन छ । तर माझी समुदायमा भने अनौठो परम्परा छ, मरेका आफन्तका नाममा एकपटक पितरा निकालेपछि वर्षैपिच्छे श्राद्ध गर्नु पर्दैन ।
अल्पसङ्ख्यकका रुपमा रहेका यस समुदायले परम्परादेखि आफ्नो संस्कृतिअनुसार मनाउँदै आएको यस पर्वलाई नै ‘पितरा पर्व’ भनिने गरिएको हो । प्रत्येक वर्ष विजयादशमीको भोलिपल्ट र तिहारको भाइटीकाको भोलिपल्ट यो पर्व आफ्नै रीतिरिवाजअनुसार मनाउने गरिन्छ । मण्डनदेउपुर नगरपालिका–१० आँपचौरका रामकृष्ण माझीका अनुसार यस परम्परा जीवन्त राख्दै आएकाले एक वर्षका बीचमा परिवारमा कसैको मृत्यु भएमा त्यस वर्षको दसैँ र तिहार पर्व सकिएको भोलिपल्ट आफ्नै संस्कृतिअनुसार मनाइँदै आइएको छ । “यस परम्परालाई निरन्तरता दिन युवाले अग्रसरता लिँदै आएका छन्”, माझीले भन्नुभयो । उहाँले देशभरका माझी समुदायद्वारा आइतबार साँझदेखि विधिपूर्वक यो पर्व मनाइरहेको बताउनुभयो ।
पितरा पर्वको किंवदन्तीअनुसार कुनै एक समयमा महादेव र पार्वती पृथ्वी भ्रमण गर्ने क्रममा एउटा ठूलो नदी छेउमा आइपुगे र नदी पार गर्न नसक्दा नदी किनारमा डुङ्गा चलाउँदै गरेको एक माझीलाई आफूहरुलाई नदी पार गराइदिन अनुरोध गरेपछि माझीले पनि नदी पार गराइदिएकाले महादेव दम्पती खुसी भई ‘तिमीहरु मर्दा बाँच्नेले नाचगान गरेमा सिधा स्वर्ग पुग्नेछौँ’ भनी वरदान दिएका थिए । त्यसैबेला देखि यो संस्कृतिको सुरुआत भएको सुन्दै आएको स्थानीय माझी बताउँछन् ।
यस पर्व माझी समुदायको परम्परा नै भए पनि सबैले मनाउनु भने पर्दैन । वर्षभरिमा जसको घरका आफन्तको निधन भएको छ, त्यही घरबाट पितरा निकालिन्छ । यदि त्यो वर्ष गाउँमा कसैको निधन भएन भने त्यस वर्ष पितरा निकाल्नु अनिवार्य नभएको माझीले बताउनुभयो । पर्वको परम्पराअनुसार तिहारको भाइटीकाको भोलिपल्ट कसैको निधन भएमा उसको परिवारले आउँदो वर्षको विजयादशमीको भोलिपल्टसम्म ‘जुठो’ बार्नुपर्छ भने विजयादशमीको भोलिपल्टदेखि भाइटीकाको दिनसम्म मरेकाको त्यही वर्ष एक वर्षभरिको काम सकिन्छ ।
नेवार समुदायको गाईजात्रा परम्पराझैँ झल्कने भए पनि पितरा पर्व फरक संस्कृति–रीति भएको आँपचौरकै ध्रुव माझीले बताउनुभयो । उहाँका अनुसार पितरा निकाल्ने अघिल्लो दिनदेखि नै केही विधि पु¥याई पितृहरुलाई निमन्त्रणा गर्न उनीहरुलाई विभिन्न वाहनहरुमा चढेर आउन भनी घरको भित्तामा हात्ती, घोडा, सिपाही, घोरल, मोटर, हवाईजहाजलगायत सवारी साधनहरुको चित्र कोरिन्छ । मृतात्मा तिनै सवारीसाधनमा चढेर आउँछन् भन्ने जनविश्वासअनुसार महिला मरेको भए महिलाकै र पुरुष मरेको भए पुरुषले लगाउने लुगा आकृतिसमेत कोरिएको हुन्छ । पर्व मनाउने क्रममा कुनै एक ब्यक्तिले ‘मरेको अभिनय’समेत गर्ने गरिएको बताइन्छ ।
पितरा निकालेको दिन बेलुकाबाट भोलिपल्टको उज्यालो नहुँदै कसैले नदेख्ने गरी उक्त आकृति मेटाइसक्नुपर्छ । पितरा निकाल्ने दिन ‘मूल भोटे’ले यसको सुरुआत गर्ने अरूले अन्य काममा सहयोग गर्ने गर्दछन् । यस कार्यका लागि माझीकै दुई बालिकालाई पुरोहितका रुपमा पुजिन्छ । उनीहरुलाई अन्य समुदायका व्यक्तिले छुन नहुने र कसैले छोएमा तिनीहरुको मृत्युसम्म हुने मान्यता रहँदै आएको छ ।
पर्वका क्रममा मूल भोटेले दुई ‘गुरुङ’को छनोट गरी उनीहरुकै साथमा अन्य मृतात्मालाई बोलाउँदै नदीसम्म जाने र यस क्रममा विभिन्न देशभक्ति झल्काउने र दुःखसुखका गीतहरु गाउने प्रचलन रहेको छ । बाटो मर्मत र सफा गर्दै पुनःघरमा फर्केर मृतकको के इच्छा छ त्यो ‘बकाउन’ विभिन्न तन्त्रमन्त्रबाट मृतकको परिवारकै सल्लाहअनुसार यदि चाहेमा मात्र आत्मालाई बोलाइने गरिएको माझीले बताउनुभयो । पर्वका दिन र रातभर विभिन्न भजन गाउँदै नाच पनि देखाइन्छ । भोलिपल्ट सबेरै नदीमा लगेर सेलाएपछि विधिअनुसारको तीन दिनको पितरा पर्वको समापन हुन्छ ।
यस पर्व मनाएपछि मरेका आफन्तको आत्मा कहिल्यै फर्केर नआओस् र बाँचेकालाई कुनै किसिमको बिघ्नबाधा नआउने मान्यता रहेको माझी बताउनुहुन्छ । “कुनै वर्ष गाउँमा पितरा निकाल्नु परेन भने पनि हामी माझीहरु अझ खुसी साथ दसैँ मनाउँछौँ, किनकि गाउँमा कसैको नाममा पनि शोकोत्सव मनाउनु परेन भनेर”, उहाँले भन्नुभयो । उहाँका अनुसार विसं २०७२ सालको भूकम्पमा यस गाउँमा ११ घरबाट पितरा निकालिएको यहाँका  अनुभव छ यहाँका माझीहरुसँग । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार
अक्टोबर ७ आक्रमणका योजनाकार हमास कमान्डर गाजामा मारिए
२०८३ कार्तिक २९, आइतबार
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउनेमा प्रदेश प्रमुख भट्ट विस्वस्त
२०८३ कार्तिक २९, आइतबार
दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी
२०८३ कार्तिक २९, आइतबार