असार २५, २०८२ बुधबार July 9, 2025

रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै

सहकारी ठगी प्रकरणमा लामिछाने र जोशीसँगै उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई म्याद थपको अनुमतिका लागि अदालतमा उपस्थित गराइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको अभियोजन कास्की अदालतमा प्रस्तुत गर्न समय लाग्ने भएको छ । लामिछाने र गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई मंगलबार म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइने भएको छ ।

जोशी असोज ६ देखि हिरासतमा छन् भने लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो । लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । कात्तिक १४ मा म्याद सकिए पनि तिहार बिदा भएकाले मंगलबार उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने र जोशीसँगै उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई म्याद थपको अनुमतिका लागि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । पछाईंको खातामा सूर्यदर्शन सहकारीबाट ३ करोड रुपैयाँ अनधिकृत रूपमा गएको देखिएको थियो भने तनहुँका खनाल गीतेन्द्रबाबु राई (जीबी) समूहले सञ्चालन गरेको नेटवर्किङ व्यवसाय नेचर हर्ब्सका सञ्चालक हुन् ।

अनुसन्धान नसकिएकाले मंगलबार अदालतसमक्ष थप म्याद माग्ने प्रहरी र सरकारी वकिल कार्यालयको तयारी छ । प्रमाणहरू जुट्दै जाँदा थप अनुसन्धान गर्नुपर्ने भएकाले चार जनाकै म्याद थपका लागि आग्रह गरिने जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले बताइन् । ‘म्याद थप गर्न हामीसँग प्रशस्त आधार र कारणहरू छन्,’ उनले भनिन्, ‘प्रहरीको अनुसन्धान प्रतिवेदन पनि आइसकेको छैन । अभियोजन यति छिट्टै लैजान सम्भव छैन ।’

पछिल्लोपल्ट कात्तिक ९ मा पक्राउ परेका नेचर हर्ब्सका सञ्चालक खनालको बयान चलिरहेको छ । लामिछानेको प्रारम्भिक बयान सकिए पनि मगाइएका कागजात र प्रमाण जुट्दै जाँदा थप बयान लिन सक्ने कानुनी बाटो खुला नै रहेको काफ्लेले बताइन् ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न मिल्छ । उक्त कसुरमा असोज ६ मा जोशी पहिलोपल्ट पक्राउ परेकाले म्याद मिलान गर्दा हालसम्म झन्डै डेढ महिना भएको छ । यसअघि प्रहरीले २५ दिन म्याद थपको माग गरेकोमा अदालतले ७ दिन थप गरेको थियो । मंगलबार पनि २५ दिन म्याद थपको माग गर्ने जिल्ला सरकारी वकिल कार्यालयको तयारी छ ।कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार