असार २५, २०८२ बुधबार July 9, 2025

निवर्तमान मन्त्री मुछिएको मानव तस्करी प्रकरण : जापान जान तीन युवाले बुझाएका थिए १० देखि १३ लाखसम्म

घटना सार्वजनिक भएपछि आन्तरिक मामिलामन्त्रीबाट राजीनामा दिएका अधिकारीमाथि प्रहरी अनुसन्धान जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मानव तस्करीमा मुछिएपछि बुधबार मात्रै पदबाट राजीनामा दिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीसँग जापान गएका तीन युवाले तस्करलाई प्रतिव्यक्ति १० लाखदेखि १३ लाख रुपैयाँका दरले बुझाएको खुलेको छ ।

धादिङको त्रिपुरा–सुन्दरी गाउँपालिका– ६ का महेश पाण्डेलाई जनही १० लाखदेखि १३ लाख रुपैयाँका दरले रकम बुझाएको पक्राउ परेकाहरूले बयान दिएका हुन् । उक्त रकम अधिकारीकहाँ पुगे–नपुगेको विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा संलग्न प्रहरीले भने, ‘जापानसम्म पुर्‍याउने, टिकटको व्यवस्था गर्ने, नक्कली कागजात बनाउने, भिसा उपलब्ध गराउनेसम्मको प्रयोजनका लागि महेशले युवाबाट प्रतिव्यक्ति १० देखि १३ लाख रुपैयाँका दरले रकम असुलेको देखिन्छ । यसको हिस्सा निवर्तमान मन्त्री अधिकारीकहाँ पुग्यो–पुगेन भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’

जापानको राजधानी टोकियोस्थित टोकियो महानगरपालिकामा आयोजना हुने भनिएको सांस्कृतिक कार्यक्रममा सहभागी हुन भन्दै अधिकारीसँगै खोटाङ ऐँसेलुखर्क गाउँपालिका– २ घर भई काठमाडौं बुढानीलकण्ठ नगरपालिका– ११ बस्ने दावा शेर्पा, खोटाङकै केपिलासगढी गाउँपालिका– ४ घर भई बुढानीलकण्ठ– ११ मै बस्ने जनक राई र रसुवा कालिका गाउँपालिका– ५ घर भई काठमाडौं मनमैँजु बस्ने कञ्चन देवकोटा १३ कात्तिकमा उडेका थिए । तर, अधिकारीसँगै तीन युवालाई टोकियो अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले ‘डिपोर्ट’ गरेपछि उनीहरू गत १७ कात्तिकमा नेपाल फर्किएका थिए ।

घटनाको अनुसन्धानमा संलग्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जापान जाने प्रयोजनमा युवाले रकम बुझाएको देखिएको, तर यसको थप अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौंले गरिरहेको हुँदा विस्तृत जानकारी नभएको बताए । ‘विमानस्थलको अध्यागमनले जिम्मा लगाएपछि हामीले घटनाको प्रारम्भिक अनुसन्धान गर्‍यौँ । जापान जाने प्रयोजनमा युवाहरूले रकम बुझाएको नै देखिन्छ । घटनाको विस्तृत अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौंले गरिरहेको छ । बाँकी  तथ्य उतै बुझ्दा ठिक होला,’ उनले भने ।

जापान जाने प्रयोजनमा दावा, जनक र कञ्चनको कागजातसमेत नक्कली बनाइएको थियो । प्रहरीका अनुसार जनक र कञ्चनसँग सहायक कर्मचारी लेखिएको कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको परिचयपत्र भेटिएको थियो भने दावासँग ऐँसेलुखर्क गाउँपालिकाको वडासदस्य उल्लेखित परिचयपत्र फेला परेको थियो । उनीहरू सबैका परिचयपत्र महेशले बनाइदिएको खुलेको छ । सोही परिचयपत्रका आधारमा उनीहरूको जापान जाने भिसा लागेको थियो ।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले पाण्डेसँगै नुवाकोटको विदुर नगरपालिका– ७ घर भई सामाखुसी बस्ने जुगल रिजाल र दोलखाको जिरी नगरपालिका– ९ घर भई काठमाडौं– १६ बस्ने वीरबहादुर सुनुवारलाई पनि पक्राउ गरेको छ । घटनामा अन्य पनि संलग्न रहेको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी भट्टराईले बताए । उनले भने, ‘घटनामा अन्य पनि संलग्न रहेको देखिन्छ । प्रहरीले अनुसन्धान गरिरहेको छ  । थप पक्राउ पर्दै जालान् ।’

घटनाको थप अनुसन्धानमा संलग्न काठमाडौं परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले भने जानकारी दिन अस्वीकार गरे । उनले भने, ‘अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरेको हो । उनीहरूले फाइल हामीकहाँ बुझाएका छन्, तर यस विषयमा बुभ्mन नै पाएका छैनौँ । त्यसो हुँदा यस विषयमा थप जानकारी पछि सार्वजनिक होला ।’

जापान जाने प्रयोजनार्थ मन्त्री अधिकारीको पासपोर्ट योगराज गौतम भनिने गोपाल गौतमले लिएका थिए । योगराज एमालेका स्थानीय कार्यकर्ता हुन् । विराटनगरका उनी अहिले भने सिंहदरबारभित्र सरसफाइ गर्ने प्रयोजनार्थ मजदुर वितरण गर्ने गर्छन् । मन्त्री अधिकारीलाई जापान जान उनले नै प्रस्ताव गरेका थिए । सोही प्रस्तावपछि  मन्त्री अधिकारीले पासपोर्ट उनलाई दिएका थिए । प्रदेश सरकारको विनाअनुमति जापान हिँडेका अधिकारी मानव तस्करीमा मुछिएपछि बुधबार नै मन्त्री पदबाट राजीनामा दिएका छन् ।

अध्यागन स्रोतका अनुसार अधिकारी टोकियो महानगरपालिकामा हुने सांस्कृतिक कार्यक्रममा भाग लिने तयारीमा थिए । तर, टोकियो विमानस्थलस्थित अध्यागमन कार्यालयले डिपोर्ट गर्ने निर्णय गरेपछि अप्ठ्यारोमा परेका थिए । १४ कात्तिकमै हङकङ हुँदै जापान पुगेका उनले कार्यक्रममा सहभागी हुन सक्दो प्रयास गरेका थिए । तर, असफल भएपछि उनी पुनः हङकङ फर्किएका थिए । त्यसपछि पनि उनले कार्यक्रममा सहभागी हुन कोसिस गरेका थिए । सबै प्रयत्न असफल भएपछि उनी तीन युवासँगै १७ कात्तिकमा नेपाल फर्किएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ विमानस्थलस्थित अध्यागमन कार्यालय पुगेर सँगै गएका युवालाई आफूले नचिन्ने र उनीहरूको गतिविधि शंकास्पद रहेको भन्दै पक्राउ गर्न अध्यागमन कर्मचारीलाई भनेका थिए । त्यसलगत्तै, अध्यागमनका कर्मचारीले जनक, दावा र कञ्चनलाई पक्राउ गरी प्रहरीलाई बुझाएको थियो । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार