काठमाण्डौं, २५ कात्तिक । राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङ्देनको १४० औं जन्मजयन्ती विशेष रूपमा मनाइने भएको छ।
संवत् १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा जन्मिनुभएका फाल्गुनन्दलाई समाज सुधारकका रूपमा लिइन्छ । फाल्गुनन्द जयन्तीका अवसरमा आइतबार कोशी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ।
फल्गुनन्दले १९८८ साल वैशाख २४ गते पाँचथरको सिलौतीमा पूर्वी नेपाल अन्तर्गत १० लिम्बूवान १७ थुमका अग्रजलाई भेला पारेर सत्य धर्म मुचुल्का घोषणा गर्दै समाज सुधारको अभियान थाल्नुभएको थियो।
सत्य धर्म मुचुल्कामा छोराछोरीलाई बराबर अध्ययन अध्यापन र समान अंशबन्डा दिनेलिने हक कायम गर्ने, सुनौली रुपौली र दाइजो प्रथा अन्त्य, छोरी देवीमाता हुन् उनीहरूको बिहे गर्दा कुटुम्बबाट रीत लिनु पाप हुने र दाइजोको सट्टा शिक्षादीक्षा राम्ररी दिएर आफ्ना खुट्टामा आफैँ उभिन सक्ने बनाइदिनु उत्तम हुने जस्ता महत्त्वपूर्ण घोषणा उल्लेख छन्।
उहाँको निधन २००५ चैत २२ गते भएको थियो। उहाँलाई नेपाल सरकारले २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको हो। उहाँको समाधिस्थल पाँचथरको इम्बुङ-७, सिलौटीमा रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया