कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

भौतिक पूर्वाधारमन्त्री ढकाललाई लुम्बिनीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी

आफु नफर्किदासम्मको लागि मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सुम्पिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललाई दिनुभएको छ ।  छिमेकी देश चीन भ्रमणमा जान लाग्नु भएका मुख्यमन्त्री आचार्यले आफु नफर्किदासम्मको लागि मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिनु भएको हो ।

मुख्यमन्त्री आचार्यले कार्तिक २५ गते (आज आइतबार)देखि लागू  हुनेगरी लुम्बिनी प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७४ पछिल्लो संशोधनको नियम १४ को उपनियम ३ बमोजिम मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोक्नुभएको हो ।

सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्यसहित ७ सदस्यीय प्रतिनिधि मण्डल चीन जान लागेको हो । सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न कार्तिक २६, २७ र २८ गते (नोभेम्बर ११ देखी १३) अन्तर्राष्ट्रिय सम्मेलन हुदैँछ ।

यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्त बीच पारस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ । भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुईपक्षिय सहयोग र सहकार्यको बारेमासमेत उच्चस्तरीय भेटवार्ता हुनेछ ।

वि.सं. २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्त बीच भगेनी सम्बन्ध कायम गरिएको थियो । तत्कालीन मुख्यमन्त्री शङ्कर पोख्रेलले सिचुआन प्रान्त बीच भगेनी सम्बन्ध कायम गर्नुभएको थियो । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्त बीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया