असार २५, २०८२ बुधबार July 9, 2025

आइएइए प्रमुखद्वारा इरानका संवेदनशील आणविक संयन्त्रहरूको भ्रमण

अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले जनवरीमा पदभार ग्रहण गर्दा तेहरानसँग कडा रवैया लिने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तेहरानले आफ्नो महत्वाकांक्षाबारे ‘शङ्का’ सम्बोधन गर्न तयार रहेको बताएपछि संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुखले शुक्रबार पश्चिमी चिन्ताको केन्द्रविन्दु बनेका दुईवटा इरानी युरेनियम संवर्धन संयन्त्रको भ्रमण गरेका छन् ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का महानिर्देशक राफेल ग्रोसीले इरानको आणविक कार्यक्रमलाई लिएर ‘व्यवहारको सीमा सङ्कुचित हुन थालेको’ चेतावनी दिएपछि इरानको भ्रमण गर्नुभएको हो ।

ग्रोसीले शुक्रबार मध्य इरानमा नातान्ज र फोर्डो संवर्धन संयन्त्रहरूको भ्रमण गर्नुभएको आधिकारिक आइआरएनए (इर्ना) समाचार एजेन्सीले जनाएको छ ।

उहाँसँग इरानको आणविक ऊर्जा सङ्गठनका प्रवक्ता बेहरोज कमलभान्डी पनि हुनुभएको इर्नाले पोस्ट गरेको तस्बिरले देखाएको छ ।

अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले जनवरीमा पदभार ग्रहण गर्दा तेहरानसँग कडा रवैया लिने अपेक्षा बढेको छ । यद्यपि उहाँका टेक अर्बपति सहयोगी एलोन मस्कले संयुक्त राष्ट्रसङ्घका लागि इरानका राजदूतलाई भेट्नुभएको न्युयोर्क टाइम्सले बिहीबार रिपोर्ट गरेको थियो ।

ट्रम्पको सङ्क्रमण टोली र संयुक्त राष्ट्रसङ्घका लागि इरानको मिसन दुवैले राजदूत सईद इरवानीसँगको भेटको पुष्टि गरेका छैनन् । इरानी मिसनले कुनै टिप्पणी नगरेको बताएको छ ।

ह्वाइट हाउसमा आफ्नो पहिलो कार्यकालमा ट्रम्पले एकपक्षीय रूपमा तेहरान र प्रमुख शक्तिहरूबीचको सन् २०१५ को ऐतिहासिक आणविक सम्झौता त्याग्दै ‘अधिकतम दबाब’ को नीतिमा आर्थिक प्रतिबन्धहरू पुनः लागू गर्नुभएको थियो ।

जवाफमा इरानले बिस्तारै सम्झौताअन्तर्गत आफ्नो प्रतिबद्धता फिर्ता लिन थालेपछि ऊमाथि तीन दशमलव ६५ प्रतिशतभन्दा माथि युरेनियम संवर्धन गर्न प्रतिबन्ध लगाइयो ।

इरानले आफ्नो युरेनियम भण्डार ६० प्रतिशतसम्म विस्तार गरेको छ । यो आणविक हतियारका लागि आवश्यक ९० प्रतिशत स्तरको धेरै नजिक भएकाले यसले अन्तर्राष्ट्रिय चेतावनी निम्त्याएको छ ।

आइएइएका अनुसार ६० प्रतिशतसम्म युरेनियम संवर्धन गर्ने इरान एक मात्र गैर–आणविक हतियार मुलुक हो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया