कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

१५ दिनभित्र सुधारको कार्ययोजना पेस गर्न नेपाल एयरलाइन्सलाई पर्यटनमन्त्रीको निर्देशन

निगमलाई घाटा लगाउने चाइनिज जहाजको व्यवस्थापनमा मन्त्रालय सकारात्मक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिनभित्र सुधारको कार्ययोजना पेस गर्न नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निर्देशन दिएका छन्।

निगमको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्री पाण्डेले निगम अहिलेकै अवस्थामा चलाउन नसकिने बताउँदै सुधारको कार्ययोजना पेस गर्न निर्देशन दिएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ। पर्यटनमन्त्री पाण्डेले निगमको सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै निगमले सुधारको कार्ययोजना पेस गरे त्यसको कार्यान्वयनका लागि मन्त्रालय हरेक कुरामा आगाडि बढ्ने विश्वास व्यक्त गरे।

नेपाल वायुसेवा निगमको आम्दानीको मेरुदण्डका रुपमा रहेको ‘ग्राउन्ड ह्यान्डलिङ’ निगमबाट नखोसिने प्रतिबद्धता व्यक्त गर्दै उनले निगमले हवाई सेवाबाट नाफा कमाउनेतर्फ लाग्नसमेत निर्देशन दिएका हुन्। निगमलाई घाटा लगाउने चाइनिज जहाजको व्यवस्थापनमा मन्त्रालय सकारात्मक रहेको उनको भनाइ थियो।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको समसामयिक गतिविधिबारे अवगत गराउँदै निगमलाई सबल र प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया