काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकमा देखिएको निराशालाई चिर्न राजनीतिक स्थायित्व आवश्यक रहेको हुँदा निर्वाचनबाट बलियो शक्ति स्थापना गरेर त्यसकै जगमा स्थिर सरकार निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) केन्द्रीय सङ्गठन विभागको आयोजनामा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आजदेखि सुरु भएको राष्ट्रिय कार्यशालामा महासचिव पोखरेलले राजनीतिक स्थायित्वका लागि स्थिर सरकार निर्माण गर्नुपर्ने बताउनुभयो ।
स्थानीय तहदेखि नै युवा र महिलाको क्षेत्रमा विशेष जोड दिएर काम गर्नुपर्ने उल्लेख गर्नुहुँदै महासचिव पोखरेलले योजना बनाए बमोजिम काम नगरे अपेक्षित परिणाम आउँदैन भन्ने कुरालाई नेतृत्वमा रहने सबैले बुझ्नुपर्ने बताउनुभयो । उहाँले पार्टी कमिटीहरूले युवा तथा महिलाको क्षेत्रमा विशेष महत्वका साथ काम गर्नुपर्नेमा त्यस्तो नभइरहेको बताउनुभयो ।
महासचिव पोखरेलले भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको मत परिणाम हेर्दा विगतको तुलनामा उपलब्धि देखिए पनि परिणाम उत्साहित हुनुपर्ने खालको नभएको बताउनुभयो ।
उहाँले स्थानीय तहमा जनप्रतिनिधिले गर्ने काम पार्टी निर्माणमा प्रयोग गर्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधिका काम पनि पार्टीलाई सहयोग पुग्ने खालका हुनुपर्ने बताउनुभयो ।
कार्यशालामा एमाले स्थायी कमिटी सदस्य तथा केन्द्रीय सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया