असार २४, २०८२ मंगलबार July 8, 2025

महामारीले जाँच्दै छ शासकहरूको योग्यता- अच्युत वाग्ले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः कोभिड-१९ को विश्वव्यापी महामारीले आम मानिसको भय, तनाव र अनिश्चितताबीच बाँच्ने सहनशीलताको त परीक्षा लियो नै, संसारभरिका शासकहरूको क्षमता अथवा ‘गुणस्तर’ पनि परीक्षण गर्‍यो, र गरिरहेको छ । विकसित, शक्तिशाली, स्वास्थ्य पूर्वाधार एवम् जनशक्ति पर्याप्त भएका धेरैवटा धनी मुलुकमा समेत कोरोना भाइरस संक्रमण नियन्त्रणबाहिर पुगेको हो कि जस्तै गरी भयावह दरमा बढिरहेको छ । 

अमेरिका, ब्राजिल, रुस, भारत आदि यस्ता उदाहरण हुन्, जसमा एकै प्रकृतिका अहंकारी राष्ट्रवादीहरू सत्तामा छन् । यसविपरीत जर्मनी, दक्षिण कोरिया, जापान, भियतनाम, न्युजिल्यान्ड आदि मुलुकहरू महामारीबाट आफ्ना नागरिकलाई धेरै हदसम्म सुरक्षित राख्न सफल भए । बेलायतको नेतृत्वले शासकीय शैली परिवर्तन गर्‍यो । साना एवम् विकासशील कोटिका मुलुकहरूमा पनि संक्रमण नियन्त्रण र सफलताको सम्बन्ध नेतृत्वको गुणस्तरसँग सहसम्बन्धित (कोरिलेटेड) देखिएको छ ।

क्याम्ब्रिज विश्वविद्यालयका राजनीतिक सिद्धान्तका प्राध्यापक लरेन्स ह्यामिल्टनले (द कन्भर्सेसन डट कममा) गत महिना लेखेका छन्, ‘नेतृत्वमा कस्तो प्रकृतिको मानिस बसेको छ र उसका प्राथमिकताहरू कहाँ छन्, जनताको हितमा कि सानो समूहको स्वार्थमा भन्ने कुराले सर्वाधिक महत्त्व राखेको देखियो । …ती लोकतन्त्रहरू जहाँजहाँ नेतृत्वले आफूलाई आफूद्वारा शासितहरूसँग समानुभूति (एम्पथी) का साथ संलग्न गराए र साथसाथै उत्तम विज्ञानसम्मत सूचनाहरूका आधारमा शासकीय निर्णयहरू पनि गरे, उनीहरू संकटलाई सबभन्दा राम्ररी सम्हाल्न सफल भए । …नेतृत्वका अफारदर्शी (सित्रेटिभ), आत्ममुग्ध (नार्सिसिस्टिक), विभ्रमी (प्यारानोइड) र उन्मादी (इम्पल्सिभ) निर्णयहरूले आफूले हेरचाह गर्नुपर्ने कर्तव्य रहेका नागरिकहरूको जीवन र जीविकोपार्जन दुवैलाई जोखिममा पारेका छन् ।’

नेपालका सन्दर्भमा, यो निष्कर्ष बेमेलजस्तो देखिन सक्छ । बेसार–पानी खाएर वा हाच्छ्युँ गरेर कोरोना भगाउने सल्लाह दिने प्रधानमन्त्री ह्यामिल्टनको वर्गीकरणमा धीर (फोर्टिच्युड) शून्य एवम् मूढमति (फल्ली) नेतृत्वमा सहजै पर्छन् । तर उनकै कार्यकारी नेतृत्वमा चलेको मुलुकमा महामारीबाट अहिलेसम्म सापेक्षतः कम मानवीय क्षति भएको देखिएको छ । सतही दृष्टिले, यो आफैंमा सानो विरोधाभास होइन । अहिले, सरकारमा बस्नेहरू यो ‘सफलता’ को कारण आफूले समयमै लिइएका बुद्धिमत्तापूर्ण निर्णय र शासकीय प्रभावकारिता रहेको दाबी निरन्तर गरिरहेका छन् । यो सरकारी दाबी कालान्तरमा पनि सत्यापित भइरह्यो भने नेपाल र नेपालीका लागि चरम सौभाग्य हुनेछ ।

तर भाइरस संक्रमणका प्रवृत्तिहरू र मृत्युका पछिल्ला आँकडाले मुलुक ठूलो ज्वालामुखीको मुखैमा बसेको देखिएको छ । भाइरस समुदायमा फैलिइसकेका पर्याप्त उदाहरण देखिएका छन् । लक्षणसहितका बिरामीहरू धेरै देखिन थालेका र आफैं अस्पताल आउन थालेका छन् । मृत्युदर बढेको छ । परीक्षण घटेको छ । सरकारले ‘कन्ट्याक्ट ट्रेसिङ’ को रणनीतिलाई लगभग पूर्णविराम लगाइदिएको छ । लकडाउन अव्यवस्थित र तदर्थवादी ढंगले खुलाइएको छ ।

स्वास्थ्य सतर्कता, सुरक्षा व्यवस्था, आम जनतामा सचेतना अभिवृद्धि र स्वास्थ्य सुविधा विस्तारजस्ता संक्रमण नियन्त्रणका अहम् पक्षमा कतै पनि सरकारको सार्थक उपस्थिति देखिएको छैन । थोरै पीसीआर परीक्षण गरेर सरकार थोरै मात्रामा संक्रमण भएको देखाउन जति उद्यत छ, त्यो नियत नै खोटपूर्ण छ । समस्याको मूल जड पनि त्यही बन्दै छ । शंकास्पद अवस्थामा मृत्यु भइसकेपछि संक्रमण पुष्टि हुने नियति पनि यही नियतको परिणाम हो । सरकारमा बस्नेहरूलाई यसबारे लज्जाबोध छैन । यी परिदृश्यहरूले, सरकारको शासकीय गुणस्तरको वास्तविक परीक्षण र सफलता दाबीको अम्ल परीक्षण दुवै एकैपटक हुने संघारमा नेपाल अब आइपुगेको देखाउँछन् ।

अव्यवस्थाको शृङ्खला

नेपालमा कोरोना भाइरस संक्रमणलाई समयमै नियन्त्रण, रोकथाम र व्यवस्थापन गर्न सकिने पर्याप्त सम्भावना र समय थियो । सीमित संख्यामा मात्र अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको आवागमन हुने र चीनको वुहानमा यो भाइरस फैलनेबित्तिकै नेपालमा पनि आम सजगताको चासो बढेको थियो । गत माघ ९ मा पहिलो संक्रमण देखिएयताका सरकारलाई उपलब्ध आधा वर्षको समय नियन्त्रण, रोकथाम र उपचार व्यवस्थाका लागि छोटो समय पक्कै थिएन । तर, यसलाई सदुपयोग गर्ने असल नियत पनि सरकारले देखाएन । सत्तासीन सानो स्वार्थ समूहको हितरक्षालाई मात्र केन्द्रमा राखेर स्वास्थ्य सामग्रीको तजबिजी खरिद गर्नेदेखि लकडाउन गर्ने र खोल्ने प्रकरणसम्म सरकार निरन्तर गैरजिम्मेवार ढंगले प्रस्तुत भइरहेको छ ।

खास गरी भारतबाट फर्किएका नेपालीहरूका लागि क्वारेन्टिन व्यवस्थित गर्न र प्रवेशविन्दुमै पीसीआर परीक्षणको व्यवस्था हुन नसकेका कारण संक्रमण मुलुकभर फैलिएको कथा अब पुरानो भएको छ । तर, त्यही कारण भाइरस समुदायमा फैलिएको छ । सरकारले यो दुःखद अनुभवबाट पनि चेतेन । एकातर्फ, संक्रमण समुदायमा कति भित्रसम्म फैलिएको छ भन्ने यकिन गर्न पर्याप्त परीक्षण गर्ने मनसाय नै सरकारले देखाएन । अर्कातर्फ, भारतबाट अहिले निरन्तर नेपाल भित्रिरहेकाहरूलाई न क्वारेन्टिनमा राख्ने गरिएको छ, न त भाइरस परीक्षण नै । यसको सट्टा सरकारले नाका नखोल्ने औपचारिक घोषणा काठमाडौं बसेर गरिदिएको छ । धरातलमा के भइरहेको छ, उसको चासोको विषय रहेको छैन ।

कम्तीमा सबै जिल्ला अस्पतालमा पीसीआर परीक्षणको सुविधा पुर्‍याउने, परीक्षणलाई सहज बनाउने, अस्पतालहरूमा सबभन्दा खराब अवस्थालाई पनि धान्ने गरी भेन्टिलेटरसहितका आईसीयु शय्याहरू थप्ने र मुलुकभर फैलिएका निजी स्वास्थ्य सेवप्रदायकहरूको सेवालाई मूलप्रवाहीकरण गर्ने कोसिस भएन । स्थानीय र प्रादेशिक सरकारहरूलाई थप भूमिका र जिम्मेवारी दिएर क्रियाशील बनाउने चार महिना लामो लकडाउन यसैका लागि समर्पित गरिनुपर्थ्यो । त्यसो भएन । अहिले दैनिक यति थोरै संख्यामा परीक्षण हुनुको मूल कारण पर्याप्त परीक्षण किट र नमुना संकलन गर्ने डब्बाजस्ता आधारभूत सामग्रीहरूकै कमी हो । प्रधानमन्त्री आफैंले सार्वजनिक रूपमा गरेको जनसंख्याको २ प्रतिशत अथवा कम्तीमा ६ लाख मानिसको पीसीआर परीक्षण गर्ने प्रतिबद्धतालाई बल्ल ३ लाख पुगेको परीक्षण संख्याले खिल्ली उडाएको छ । यो परीक्षणको संख्या हो, जसको अर्थ त्यति नै जनाको परीक्षण भएको भन्ने होइन । एकै जनामा पटकपटक गरिएको संख्यासमेत यसमा समावेश छ ।

हरेक विपत्तिलाई नयाँ संस्थागत सुरुआतको अवसर मानिन्छ । यो दृष्टिले स्वास्थ्य पूर्वाधारलाई जनस्तरसम्म पुर्‍याउन अहिलेको महामारीले सिर्जेको मूल अवसर द्रुत गतिमा गुम्दै छ ।

सरकारले लकडाउन खुलाएको छ । मानिसहरूको जमघट र भीडभाड बढेको छ । सार्वजनिक यातायात खुलेको छ । छोटो दूरीका लागि खुलाइएको भनिए पनि मुलुकभरिबाट उपत्यका भित्रिने नाकाको एक सय मिटर परसम्म यात्रु ल्याएर ओराल्ने अभ्यासलाई सरकारी निकायहरूले देखेको नदेख्यै गरिरहेका छन् । यसमा सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र साबुनपानी एवम् स्यानिटाइजर प्रयोग सुनिश्चित गर्ने-गराउने विषयमा राज्यका अङ्गहरू पूर्णतः उदासीन छन् ।

लकडाउनले लथालिंग भएको अर्थतन्त्रलाई प्रत्यक्ष नगदै राहत दिने कार्यक्रम र मनसाय सरकारले देखाएन । जबकि यस्तो नगदै राहतको व्यवस्था नगरी मुलुकका खास गरी अधिकांश साना–मझौला उद्योग–व्यवसाय पुनः सञ्चालनमा आइहाल्ने, उत्पादन र रोजगारी सुचारु हुने कुनै सम्भावना छैन । अन्तर्राष्ट्रिय विकास साझेदारहरूले यस्ता कम्पनीहरूलाई बन्द हुन र टाट पल्टिनबाट जोगाउन तरल नगद नै सहयोग गर्न दिएको सुझाव (विश्व बैंक ‘नेपाल डेभेलपमेन्ट अपडेट’, जुलाई २०२०) आदिलाई पनि सरकारले वास्ता गरेन । यसरी आफ्नो जिम्मेवारी पूरा नगर्नुको अपजसबाट उम्कन, अर्थतन्त्रलाई चलायमान बनाउने नाममा सरकारले श्रमिक, कार्यस्थल र स्वास्थ्य सुरक्षाको प्रबन्धै नगरी लकडाउन खुलायो । यसले जोखिमलाई ह्वात्तै बढाएको छ । सरकार खुलेको लकडाउनलाई थप सुरक्षित र व्यवस्थित बनाउने बहसमा छिर्नै चाहेको छैन । ‘सरोकारवालाहरूले खुलाउन भनेर खुलाइदिएको’ भन्ने आशयका अभिव्यक्ति दिएर उम्कन खोजिरहेको छ । अर्थतन्त्रमाथि भएका आयामबारे छुट्टै बृहत् अनुसन्धान आवश्यक छ । सरकारले विज्ञान र तथ्यसंगत निर्णयहरू नगरेको र यस्तो महामारीका बेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्रको शक्तिसंर्घषलाई केन्द्रविन्दुमा राखेर अकर्मण्य बनेको पक्ष अलग्गै छ । सरकारको गुणवत्ता परख गर्ने यी थप पक्ष हुन् ।

स्थानीय शासन

संकट नियन्त्रणमा राजनीतिक प्रणालीले महत्त्व राख्छ । यो महामारी नियन्त्रणमा संघीय वा एकात्मक कुन सरकार बढी प्रभावकारी भयो भन्ने सहज निष्कर्ष निकाल्न सहज छैन । अमेरिका र जर्मनी दुवै संघीय प्रणाली भएका मुलुक हुन् । त्यहाँ महामारी नियन्त्रणको परिदृश्य अत्यन्त फरक छ । तर बेलायती र क्यानडाली नौ अनुसन्धाताले गरेको अध्ययन (द कोभिड–१९ पान्डेमिकः टेरिटोरियल, पोलिटिकल एन्ड गभर्नेन्स डाइमेन्सन्स अफ द क्राइसिस, जुन २०२०) ले प्रस्टसँग भनेको छ- आर्थिक स्रोतको व्यवस्थापन केन्द्र सरकारले र सेवा प्रवाह एवम् स्थानीय पूर्वाधार व्यवस्थापनको निर्णय प्रादेशिक/स्थानीय (सबन्यासनल) सरकारहरूले गर्दा महामारी नियन्त्रण थप प्रभावकारी देखियो । यसबाट केन्द्रीय सरकारको जस्तै प्रादेशिक/स्थानीय सरकारहरूको प्रभावकारिता र गुणस्तर मूल्यांकनको अवसर पनि उपलब्ध हुने थियो ।

तर नेपालको हकमा, विशेषतः संघीयताको कोणबाट यस्तो मूल्यांकनको सम्भावनालाई संघीय सरकारको नीतिगत अस्पष्टता र केन्द्राभिमुखी मानसिकताले निमिट्यान्न पारिदियो । उदाहरणका लागि, प्रदेश, जिल्ला, नगरपालिका र स्रोत भएका गाउँपालिकाहरूसम्मलाई आफ्नो आवश्यकतानुसारको पीसीआर परीक्षण उपकरण खरिद र ल्याब स्थापनाको स्वतन्त्रता र स्रोत समयमै उपलब्ध गराएको भए अहिले परिस्थिति तात्त्विक रूपले फरक हुने थियो । हरेक विपत्तिलाई नयाँ संस्थागत सुरुआतको अवसर मानिन्छ । यो दृष्टिले स्वास्थ्य पूर्वाधारलाई जनस्तरसम्म पुर्‍याउन अहिलेको महामारीले सिर्जेको मूल अवसर द्रुत गतिमा गुम्दै छ ।

विविध तहबीच आरोप–प्रत्यारोप, दलगत दोषारोपण र प्रादेशिक/स्थानीय तहमा शासकीय प्रभावकारिताको मात्रामा जत्ति नै फरक भए पनि महामारीपछि यी सबै सरकारको ‘गुणस्तर’ पनि मूल्यांकनको परिधिमा आउनेछ । सच्चिने चेत आउने हो भने यी सरकारहरूका लागि अझै केही अवसर बाँकी छन् । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार