असार ६, २०८३ शनिबार June 20, 2026

तत्कालीन सरकारले किसानका लागि गरेको काम विगतको सरकारले बुझ्न सकेन : कृषिमन्त्री, प्रकाश श्रेष्ठ (अन्तवार्ता)

हेटौँडामै बसेर योजना बनाउँदा कमजोरी भयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागमती प्रदेश सरकारको लगानीमा निर्माण भएका १० वटा शीत भण्डारको अवस्था के छ ?

प्रदेश सरकारले निर्माण गरेको शीत भण्डारहरूको काम लगभग अन्तिम चरणमा छ । केहीमा विद्युत् जडानको काम बाँकी छ । केही हस्तान्तरणको क्रममा पुगेका छन् भने केही अन्य समस्याले अड्किएका छन् । सम्झौता गरेका साझेदारी संस्थाहरूले रकम नहालेपछि निर्माणमा केही समय ढिलो भयो । केहीमा भुक्तानीको समस्या पनि पर्‍यो । ती कुरा मिलाउन हामीलाई केही समय लाग्यो । निर्माण भएपछि साझेदारी गर्ने संस्थाहरूले आफ्नो तर्फबाट जे दायित्व निर्वाह गर्नुपर्ने हो, त्यो निर्वाह हुन सकेको छैन ।

प्रदेश सरकारले २०७६ सालदेखि सुरु गरे पनि शीत भण्डार निर्माणमा किन ढिला भयो ?

प्रदेश सरकारले २०७६ देखि १० वटा शीत भण्डार निर्माण सुरु गरेको हो । एउटै प्याकेजमा ठेक्का लगाएर काम गरिएको छ, जसले गर्दा निर्माण कार्यको भुक्तानीमा पनि समस्या छ । विगतमा केही नीतिगत समस्या पनि भयो । सरकार परिवर्तनले पनि केही समस्या भयो । नीतिगत, कानुनी प्रावधान मिलाएर दिनुपर्ने विषयमा विगतमा कमजोरी भयो । साझेदार संस्थाले हाल्न पर्ने ३० प्रतिशत बजेट कतिपयले हाल्न सकेनन्, जसले गर्दा काममा बाधा आयो ।

कृषि क्षेत्रको आयोजना सञ्चालनमा राजनीतिक अस्थिरताले पनि समस्या बनाएको हो त ?

कृषि क्षेत्र दैनिक जनताको जीवनसँग जोडिएको हुन्छ । प्रस्टसँग भन्नुपर्दा कृषि क्षेत्रमा विवादको कारण राजनीतिक स्वार्थ नै हो । शीत भण्डार, पाउडर कारखानालाई उदाहरण मान्ने हो भने किसानहरूका लागि लक्षित गरेर ती आयोजना सञ्चालनमा ल्याइएको हो । तर, सरकार परिवर्तन हुनासाथ ती आयोजना फरक ढंगबाट व्याख्या गरियो, जसका कारण समस्या भयो ।

संस्थागत रूपमा विगतको सरकारले जिम्मेवारी लिन चाहेन । तत्कालीन सरकारले किसानका लागि गरेको काम विगतको सरकारले बुझ्न सकेन । किसानलाई फाइदा भयो कि भएन भन्दा पनि मेरो मुद्दा के भयो भन्नेमा दलहरूको ध्यान बढी गयो ।

६ वटा शीत भण्डार सम्पन्न भएका छन् । २ वटा अन्तिम अवस्थामा छन् भने २ वटा शीत भण्डार निर्माणको क्रममा छ । एकै पटक निर्माण सुरु गरिए पनि २ वटाको काममा किन ढिला भयो ?

निर्माण सम्पन्न भइसकेका पूर्वाधारहरू विधिगत रूपमा कानुनी प्रक्रिया सकेर सञ्चालन गर्नुपर्छ । सबैको साझा विषय बनाएर सञ्चालनको कार्यविधि निर्माण गरेर अघि बढ्नुपर्छ । सञ्चालन कार्यविधि अनुसार निर्माण भएका पूर्वाधारहरूमा समस्या हल गर्ने गरी काम गर्नुपर्छ ।

त्यसका लागि प्रदेश नीति तथा योजना आयोगको कृषि क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा ४ सदस्यीय कार्यदल बनाउने तयारी छ । त्यो कार्यदलको छोटो समयमा अध्ययन गरेर १० वटै शीत भण्डारको अवस्थाबारे प्रतिवेदन तयार गर्नेछ । प्रत्येक पालिकामा गएर प्रमुख/उपप्रमुख र साझेदारी संस्था सहकारीको व्यक्तिसँग छलफल गरेर अवस्था बुझ्नुपर्ने हुन्छ । सो प्रतिवेदनले शीत भण्डारको सम्पन्नता, हस्तान्तरण, सञ्चालनको विषय समेट्ने छ । किसानहरूलाई सहज हुने गरी सम्बन्धित संस्थालाई सञ्चालनको लागि जिम्मा दिनेछौँ ।

दोलखाको एउटा शीत भण्डार निर्माणको काम बन्द भएको छ । भीमेश्वरको शीत भण्डार निर्माणको काम जग्गामा हाइटेन्सनको लाइन परेपछि रोकिएको छ । साझेदारी संस्थाले अर्को ठाउँमा जमिन दिन्छौँ भनेका छन् । त्यसपछि मात्र काम गर्ने अवस्था रहन्छ ।

शीत भण्डारका सन्दर्भमा अहिले आएर विभिन्न समस्या देखियो । हिजोको दिनमा सरकारले उक्त प्रोजेक्टको विषयमा अध्ययन गरेको देखिएन ?

विगतमा कार्य क्षेत्रमा नजाने र हेटौँडामै बसेर योजना बनाउँदा कमजोरी भएको हो । त्यस समयमा पूर्वतयारी आवश्यक थियो । कुन–कुन पालिकामा आवश्यक छ भन्ने छुट्याएर बजेट हाल्नु पर्थ्यो । तत्कालीन सरकारले पनि आवश्यकताको आधारमा काम गरेको देखिन्छ । केही प्राविधिक विषयमा कमजोरी भयो । केही कर्मचारी क्षेत्रबाट व्यवस्थापन हुन सकेन । सरकारले सुरु गरेको सो प्रोजेक्टका लागि छनोट गरेका संस्थाहरूको विषयमा पनि दुबिधा भयो । सहकारीसँग भएको साझेदारीमा सहकारीले नसकेर पालिकाले रकम हालिदिने भयो । कतै प्रदेश सरकारले नै सबै खर्च बेहोरेको छ । धादिङको प्रोजेक्टमा साझेदारको रकम १०० प्रतिशत नै सरकारले हालिदियो । जसले गर्दा अहिले विवाद भइरहेको छ । एक ठाउँमा सरकारले हाल्ने, अरू ठाउँमा किन नहाल्ने भन्ने प्रश्न पनि साझेदार संस्थाहरूको छ । अधिकांश संस्थाले सरकारले रकम हाल्दिए सञ्चालन हामी गर्थ्यौँ भन्दै आएका छन् ।

प्रदेश सरकारको यति ठुलो लगानी भएको सो योजना व्यर्थ देखिएको छ । आयोजना छनोटको काम उत्पादनको आधारमा हुन सकेन कि ?

विगतका सरकारले पनि उत्पादनको आधारमा शीत भण्डार क्षमता निर्माण गरेर काम थालेको हो । उत्पादन हेर्ने हो भने १० वटा शीत भण्डारले पनि पुग्दैन । प्रदेश सरकारले जिल्ला हेरेर, उत्पादनको क्षमता हेरेर, बजार हेरेर शीत भण्डार निर्माण गरिएको छ । त्यसमा समस्या छैन । शीत भण्डार आवश्यक भएर नै बनाएको हो ।

तत्कालीन सरकारबाट पर्याप्त अध्ययन भएको छ र बजेट हालेको ठिक छ । निर्माणको काम पनि राम्रो भएको छ । परीक्षण गर्दा पनि केही समस्या देखिएको छैन । थप प्रक्रियाका लागि मन्त्रालयको विधिगत रूपमा काम गरिरहेको छ ।

तपाईंले सबै विषय ठिक छ भन्दै गर्दा विगतदेखि नै यो विवादको विषय किन बन्यो त ?

प्रशासनिक क्षेत्रमा कार्यालयको प्रक्रिया हुन्छ । एक जना सचिव आउँछ, उसले काम गर्दै गएको हुन्छ । अर्को आउँछ, अर्कोले पनि त्यही काम गर्नुपर्ने हुन्छ । मन्त्री पनि फेरिइरहन्छ । संस्थागत रूपमा गर्नुपर्ने काम निरन्तर, व्यवस्थित र राम्रो गर्नुपर्ने हो । तर, त्यसमा केही समस्या देखिएको छ । योजना निर्माण गर्नेहरू अहिले त्यो ठाउँमा छैनन् । कार्यान्वयन गर्ने पनि फरक–फरक छन् । बुझाइमा कमजोरी हुन्छ । अहिले अख्तियारको समस्या पनि उस्तै छ । केही व्यक्तिको काम नै उजुरी गर्नेजस्तो बनेको छ । त्यसैले गर्दा समस्या भएको हो । सरकारले राम्रो गर्न खोज्दाखोज्दै पनि समस्या देखिएका छन् ।

स्थानीय सरकार र सहकारीहरूका प्रतिनिधि शीत भण्डार आवश्यक नभएको ठाउँमा बनेको भन्दै छन् नि ?

त्यसो होइन । म आफैँ गएर हेर्दा सबै ठाउँको शीत भण्डार आवश्यक नै छ । लामो समयदेखि काम भइरहेको तर पूरा नभएकाले निराशा भएको हुन सक्छ । निर्माण भइसक्यो तर पनि सरकारले चलाएको छैन । सरकारले अहिले शीत भण्डार, दुध पाउडर कारखाना, भेटेनरी अस्पतालहरू, तरकारी बजार आयोजनाहरू व्यवस्थापनको काम गर्न लागिरहेको छ । प्रदेशको ठुलो लगानी भएको यो क्षेत्रबाट रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ ।

प्रदेश सरकारले ६/७ वर्षदेखि सुरु गरेको आयोजनाहरू प्रतिफलविहीन भएको छ । यसलाई व्यवस्थापन गर्न प्रदेश सरकारको भूमिका के हो ?

प्रदेश सरकारको आफ्नै प्रशासनिक भवन नहुँदा समस्या भइरहेको छ । अर्काको भवन प्रयोग गर्दा कार्यक्रम कार्यान्वयनमा पनि असहजता भएको छ । विगतमा कतिपय काम पूर्वतयारी नगर्दा समस्यामा परेका हुन् । यसमा बजेटको पनि कुरा आउँछ । आवश्यक कुरा मध्यनजर गर्दै योजनाबद्ध रूपमा विकासका काम गर्ने गरी अघि बढ्नुपर्छ ।

प्रदेश सरकार अहिले काम गर्नेलाई सहयोग गर्ने, गलत क्रियाकलाप गर्नेलाई दण्डित गर्ने योजनामा लागेको छ । प्रदेश सरकारको निर्देशन र सर्त अनुसार काम गर्नेलाई सञ्चालनको अनुमति दिने र हस्तान्तरण गर्ने गरी शीत भण्डारको काम अघि बढाउँछौँ ।

शीत भण्डार कसरी सञ्चालनमा ल्याउने योजना छ ? निर्माण हुन बाँकी शीत भण्डारको कार्य कहिले सकिन्छ ?

सम्पन्न भएका शीत भण्डार हस्तान्तरण र सञ्चालन गर्ने अध्ययन कार्यदल बनाएर १५ दिनको भित्र प्रतिवेदन तयार गर्छौँ । १० वटै शीत भण्डारका बारेमा अध्ययन कार्यदलले ल्याएको रिपोर्टको आधारमा विवाद भएका स्थानमा समस्या हल गर्ने काम गर्छौँ । निर्माण भइसकेका शीत भण्डारलाई परीक्षण गर्ने र त्यसको रिपोर्ट आइसकेपछि आवश्यक प्रक्रियाबाट काम अघि बढाउँछौँ । रिपोर्टको आधारमा सम्बन्धित ठाउँमा गएर पालिका प्रमुख उपप्रमुख, साझेदारी संस्था र किसानको प्रतिनिधिसँग छलफल हुन्छ । समस्या, कमजोरी सुधारका लागि कार्यक्षेत्रमा गएर काम गर्ने सरकारको योजना छ ।

त्यसो हो भने शीत भण्डार सञ्चालनको मोडालिटी के त ?

सहकारी संस्थाले हामी मापदण्डमा रहेर सञ्चालन गर्ने छौँ भन्ने हो र किसानहरू सदस्य बनेर आएको खण्डमा हस्तान्तरण हुन्छ । सहकारी बाहेक पालिकाले हामी किसानको जिम्मा लिन्छौँ भन्ने प्रस्ताव गर्नुभएमा पालिकालाई हस्तान्तरण गर्नेछौँ । किसान आफैँले व्यवस्थापन गर्न तयार भएको खण्डमा मापदण्ड बनाएर प्रतिस्पर्धाको आधारमा हस्तान्तरण गर्छौँ ।

शीत भण्डारले मात्र किसानको समस्या हल हुन्छ त ? कृषकको उत्पादन बिक्री गर्ने बजार कहाँ छ ? बजार छैन भन्ने कृषकको गुनासो सरकारले सुनेको छ ?

बजार भनेको उपभोक्ता हो । शीत भण्डारमा कृषि उपजको दिगोपनको लागि मात्र राख्ने हो । कुनै तरकारी आजको भोलि नष्ट हुन्छ भने त्यसलाई केही समय भण्डारण गरेर राख्ने हो । अहिले सरकारले ठाउँठाउँमा हाट बजारको व्यवस्था गरेको छ । स्थानीय उत्पादनले बजार पाउँछ । विषादीको प्रयोग नभएको र स्वास्थ्यलाई योग्य कृषि उपजलाई प्रोत्साहन गर्ने गरी प्रचारप्रसार जरुरी छ । राज्यले व्यवस्थापकीय क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ ।

सरकारले लगानी गरेको क्षेत्रमा चासो नदिनु सबैभन्दा ठुलो कमजोरी हो । सरकारी सम्पत्तिको संरक्षणमा नागरिकको ध्यान गएन । सरकारी सम्पत्तिलाई संरक्षण गरी उपभोग गर्नुपर्छ । रातोपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विप्लव नेतृत्वमाथि असन्तुष्टि जनाउँदै १० केन्द्रीय सदस्यसहित १२ जनाको सामूहिक राजीनामा
२०८३ असार ६, शनिबार
अमेरिका–इरान वार्ता ‘आइतबार’
२०८३ असार ६, शनिबार
कामपाको बजेट पूर्वाधार योजना, विद्यालय शिक्षा केन्द्रित
२०८३ असार ६, शनिबार
‘कोशी नमूना संयुक्त राष्ट्रसङ्घ सम्मेलन’ सुरु
२०८३ असार ६, शनिबार
सुदूरपश्चिममा एमाले पुनर्गठन छलफल सम्पन्न, सुझावहरू ग्रहणयोग्य : विष्णु पौडेल
२०८३ असार ६, शनिबार
‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ – शिक्षामन्त्री
२०८३ असार ६, शनिबार
‘बर्ड फ्लु’ सङ्क्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
२०८३ असार ६, शनिबार