असार २३, २०८२ सोमबार July 7, 2025

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि शुरु

हिँउदे अधिवेशनका लागि प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, माघ ७ गते । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ गते सोमबारदेखि सुरु हुँदै छ । आजदेखि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

गत पुस १९ गते कर्णाली प्रदेशको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौँ बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेपछि पुस २१ गते प्रदेश प्रमुखको कार्यालयले माघ ७ गते दिउँसो १ बजेदेखि प्रदेश सभा बैठक बस्ने सूचना जारी गरेको थियो ।

यस पटकको अधिवेशनका लागि प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता भइसकेका छन् । प्रदेश सभा सचिवालयका अनुसार दर्ता भएका विधेयकमा कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा (पहिलो संशोधन) विधेयक, २०८१ र कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ रहेका छन् ।

सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले सचिवालयमा तीन वटा विधेयक दर्ता भइसकेको जानकारी दिँदै अन्य चार वटा विधेयक विभिन्न समितिमा छलफलका क्रममा रहेको बताउनुभयो । उहाँका अनुसार अर्थ तथा प्राकृतिक स्रोत समितिमा कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश मामिला समितिमा कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा सामाजिक विकास समितिमा दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक छलफलका चरणमा रहेका छन् । अहिलेलाई प्रदेश सभा बैठकका तीन वटा दर्ता भएका र चार वटा समितिमा छलफलमा रहेका विधेयक रहेको र पछि प्रदेश सरकारले अन्य आवश्यक ठानिएका विधेयक ल्याउन सक्ने उहाँले बताउनुभयो । यसअघि चौथो अधिवेशन गत असोज १५ गते अन्त्य गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया