असार २०, २०८२ शुक्रबार July 4, 2025

फिदिममा गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई निःशुल्क एम्बुलेन्स सेवा

एकै समयमा एकभन्दा बढी स्थानबाट यी तीन वर्गका बिरामी अस्पताल जानुपर्ने भए बिरामीले अन्य एम्बुलेन्स प्रयोग गर्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाँचथर । फिदिम नगरपालिकाले नगर क्षेत्रभित्रका गर्भवती, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक तथा ‘क’ वर्गको परिचयपत्रवाहक अपाङ्गता भएकालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

नगरपालिकाले ‘कोखदेखि शोकसम्म’ कार्यक्रम सञ्चालनमा ल्याई यी तीन वर्गका नागरिकलाई घरबाट नजिकैको स्वास्थ्य संस्था वा जिल्ला अस्पतालसम्म आउन र स्वास्थ्य संस्थाबाट घर जान निःशुल्क एम्बुलेन्स सुविधा दिन थालेको हो । जिल्ला अस्पतालमा आई उपचार गराउन नजिकैको स्वास्थ्य संस्थाले सिफारिस गर्नुपर्ने व्यवस्था नगरपालिकाले गरेको छ । नगरपालिकाको एम्बुलेन्स प्रयोग गर्दा फिदिम नगरवासी अन्यले भने १० प्रतिशत छुट पाउने नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए ।

एकै समयमा एकभन्दा बढी स्थानबाट यी तीन वर्गका बिरामी अस्पताल जानुपर्ने भए बिरामीले अन्य एम्बुलेन्स प्रयोग गर्न सक्नेछन् । अन्य एम्बुलेन्स प्रयोग गरेबापत नगरपालिकाले भाडा उपलब्ध गराउने व्यवस्था गरिएको नगर प्रमुख काफ्लेले बताए । नगरवासीको जीवनसँग सम्बन्धित महत्त्वपूर्ण घटनामा नगरपालिकाको ‘सार्थक उपस्थिति’का लागि यो कार्यक्रम ल्याइएको उनको भनाइ छ ।

यस्तै नगरपालिकाले नगरभित्र स्थायी बसोबास गर्ने नागरिकको मृत्यु हुँदा रु १० हजार मृत्यु संस्कार खर्च उपलब्ध गराउने भएको छ । नगरपालिकाले ‘विपन्नसँग नगर प्रमुख कार्यक्रम कार्यान्वयनसम्बन्धी मापदण्ड–२०८१’ स्वीकृत तथा लागू गरी यो व्यवस्था गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद भट्टराईले जानकारी दिए।

उक्त सहायता इच्छुकले मात्रै लिन सक्ने नगरपालिकाले जनाएको छ । यो व्यवस्थापछि मृत्यु दर्ता समयमै हुने पनि नगरपालिकाको अपेक्षा छ । अहिले समयमा मृत्यु दर्ता हुन नसक्दा नगरपालिकाले तथ्याङ्कीयलगायत विभिन्न क्षेत्रमा समस्या भोग्नुपरेको नगर प्रमुख काफ्लेको भनाइ छ ।

नगरपालिकाले नगरभित्र सञ्चालन हुने मेला, महोत्सव, सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगितालगायतका लागि आर्थिक सहायता माग गर्दा नगरपालिकालाई प्रवर्द्धक वा मुख्य प्रवर्द्धकका रूपमा राखेमा नगर कार्यपालिकाको बैठकबाट सहायता उपलब्ध गराउने व्यवस्था पनि गरेको छ । “विशेषतः खेलकुद क्षेत्रमा नगरपालिकाले गरेको लगानी कतै पनि नदेखिने अवस्था आएपछि हरेक प्रतियोगितामा नगरपालिका प्रवर्द्धक रहेर आम समुदायलाई सुसूचित गराउन यो व्यवस्था गरेका हौँ”, नगर प्रमुख काफ्लेले भन्नुभयो । नगरपालिकाले तय गरेका तीनवटै व्यवस्था कार्यान्वयनमा गइसकेको समेत नगर प्रमुख काफ्लेले जानकारी दिए । चौध वडा रहेको फिदिमको जनसङ्ख्या ४८ हजार रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार