पोखरा । पोखरा रंगशालामा सर्वाधिक विजेता क्लब हो–विभागीय नेपाल पुलिस क्लब । आजभन्दा २४ वर्षअघिको प्रथम क्याराभान गोल्डकपको विजेता पुलिस सहारा क्लब पोखराले लगातार आयोजना गर्दैआएको आहारारामा सर्वाधिक ६ पल्टको विजेता हो ।
त्यसो त मनाङ मस्र्याङ्दी क्लबले पनि पुलिस समान सर्वाधिक विजेताको रेकर्ड बनाएको छ । बुधबार ऐतिहासिक १५० औं खेलमा चर्च ब्वाइज युनाइटेड क्लबको चुनौती १–० अन्तरले पन्छाउँदै उक्त रेकर्ड ब्रेक नजिक पुगेको हो । मनाङ मस्र्याङ्दीको यसपालि अनुपस्थिति छ । जसले गर्दा विभागीय पुलिसलाई सातौंपल्ट उपाधिसहित १२ लाख जित्ने प्रशस्त अवसर छ ।
पुलिसले शनिबार फाइनल साविक उपविजेता थ्रि स्टार र उज्जेकिस्तानको ब्ल्याक बुल्स् क्लबको दोस्रो सेमिफाइनल विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । थ्रि स्टार आहाराराको पाँचपल्टसम्मको विजेता हो भने उज्जेकिस्तानी टिम पहिलो पल्ट खेल्न आएको हो ।
बुधबार पहिलो सेमिफाइनलमा चर्च ब्वाइजलाई पराजित गर्न पुलिसका लागि सञ्जीव लामाले ५८ औं मिनेटमा गरेको गोल निर्णायक बन्न पुगेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएकोमा दोस्रो हाफको सुरुआतमै लामाले करिब २५ यार्डबाट गरेको प्रहार गोलमा परिणत भयो । लामा नै प्लेयर अफ दि म्याचसमेत घोषित भए ।
बराबरी खेल्ने प्रयासलाई चर्च ब्याइजले अन्तिम समयसम्म कायम गरे पनि अन्ततः आहारारामा पुलिसमाथि लगातार तेस्रो जित हात पार्न सकेन । पुलिसले भने विगतको चोट बिर्साउँदै बदला लियो । २२ औं संस्करणमा प्रिक्वाटरफाइनलमा र २३ औं संस्करणको क्वाटरफाइनलमा चर्च ब्वाइजसामु पुलिसको जोर चल्न सकेको थिएन । यसपालि तेस्रो भेटमा भने पुलिसले झिनो गोलअन्तर भए पनि जितेरै छाड्यो ।
आयोजक सहारा क्लब पोखरालाई उद्घाटनमा तथा ब्रिगेड ब्वाइज क्लब युकेलाई पहिलो क्वाटरफाइनलमा पराजित गर्दै पुलिस सेमिफाइनल खेलेको हो । पुलिसले सहारालाई १–० र युके टिमलाई २–० ले हराएको थियो । चर्च ब्वाइजले पनि यसअघि दुई खेल जित जितेको थियो । चर्च ब्वाइजले पहिलो खेलमा एनआरटीलाई सडन डेटको शिकार बनाएकोमा क्वाटरफाइनलमा साविक विजेता त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।
दिनको खेलमा दुवै टिमबाट गोलका केही अवसर गुमेका थिए । १६ औं मिनेटमा पुलिसका विवेक पाण्डेले गरेको प्रहारले गोस्टको दिशा लिन सकेन । ४२ औं मिनेटमा उज्ज्वल राईको फ्रि किक विपक्षी डिफेन्डरले सहज पन्छाए । २५ औं मिनेटमा चर्च ब्वाइजका समीर तामाङले दिएको गतिलो पास सदुपयोग गर्न सकेनन् ।
बिहीबार दोस्रो सेमिफाइनल थ्रि स्टार र ब्ल्याक बुल्सबीच हुने आयोजकले जनाएको छ । पुलिसले क्याराभानसहित आहारारा गोल्डकपको पहिलो, छैटौ, सातौ, आठौं र सोहौं संस्करण जितेको छ । सोहौं संस्करण २०७४ सालमा भएको थियो । पछिल्लो ४ वर्षपछि फाइनल पुगेको पुलिस २०७६ मा पनि फाइनल पुगेर पनि उपविजेतामा सीमित भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया