काठमाण्डौं, ३ फाल्गुन । सहारा क्लब पोखराको आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल आज शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा भिड्दैछन्, नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी ।
विभागीय नेपाल पुलिस पोखरा रंगशालामा सर्वाधिक सफल टिम हो भने उज्जेकिस्तानी टिमको पहिलोपल्टको सहभागिता हो । दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुने फाइनल प्रतिस्पर्धालाई पोखरेली दर्शक व्यग्ररुपमा प्रतीक्षारत् छन् ।
शुक्रबार प्रि–म्याच कम्फ्ररेन्समा दुवै टिमले फाइनल आफूले जित्ने दाबी गरे । उनीहरु खेल जितेर इतिहास रच्न चाहन्छन् ।
नेपाल पुलिसका प्रशिक्षक चेतन घिमिरेले आफूहरु फेरि पनि उपाधि जित्ने लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रिने संचारकर्मीलाई बताए । क्याराभानसहित ६ पल्टको विजेता पुलिसले फाइनल जिते उपाधिमा रेकर्ड ब्रेक गर्नेछ । पुलिस समान मनाङ मस्र्याङ्दीले पनि आहारारामा ६ पटक नै उपाधि जितेको छ । तर यसपालि उसको उपस्थिति छैन ।
पुलिसका क्याप्टेन राम वाजीले आफ्नो टिमको रणनीतिअनुरुप खेल खेलेर उपाधि जित्ने लक्ष्य रहेको बताए । पुलिसले क्याराभानसहित आहारारा गोल्डकपको पहिलो, छैटौं, सातौं, आठौं र सोहौं संस्करण जितेको छ । सोहौं संस्करण २०७४ सालमा भएको थियो ।
पत्रकार सम्मेलनमा ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजिजले पुलिससँगको फाइनलमा कडा प्रतिस्पर्धामा हुने बताए । कप्तान जाखिरगिरले आफूहरु यहाँको मैदानमा फाइनल पर्खिरहेको बताए । नेपाली टिमको तुलनामा भने विदेशी यो टिमले पोखरा रंगशालामा हेर्नलायक खेल पस्किँदैआएको छ ।
ब्ल्याक बुल्सले क्वाटरफाइनलमा थण्डरबोल्ट नर्थ युनाइटेड क्लब, सिक्किमलाई ३–० ले पराजित गर्दै विजयी यात्रा सुरु गरेको थियो । दोस्रो सेमिफाइनलमा थ्री स्टार क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो । जबकि थ्रि स्टार ५ पटकको विजेता हो ।
पुलिसले उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–०, क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २–० र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० ले पराजित गरेको थियो । साविक विजेता त्रिभुवन आर्मी क्लब र साविक उपविजेता थ्रिस्टार उपाधि होडबाट बाहिरिएका हुन् ।
आयोजकले विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँमा साथमा शिल्ड, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गर्नेछ । त्यस्तै, उत्कृष्टलाई विधागत पुरस्कारसमेत प्रदान गरिने क्लब अध्यक्ष केशवराज बरालले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया