असार २४, २०८२ मंगलबार July 8, 2025

के भनेर दिनु राजीनामा ?- श्रीकृष्ण अनिरुद्ध गाैतम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पछिल्ला केही महिना सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एउटा कित्ता प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग ‘कि त प्रधानमन्त्री छोड, नभए अध्यक्ष छोड’ भनेर निरन्तर कचकच गरिरहेको छ । कहिलेकाहीँ भने उनले दुवै पद छोड्नुपर्ने जिकिर पनि गरिरहेको छ ।

त्यो कित्ताको अगुवाइ नेकपाकै अर्का अध्यक्ष प्रचण्ड अर्थात् पुष्पकमल दाहालले गरिरहेका छन् । प्रचण्ड कित्तामै कुनै बेलाको एमालेका महासचिव माधवकुमार नेपाल र अध्यक्ष झलनाथ खनाल पनि छन् ।

२०७४ सालका संसदीय र प्रादेशिक चुनावपूर्व ओलीको एमाले र प्रचण्डको माओवादी केन्द्रले गठबन्धन गरेर, संयुक्त रूपमा, दुवै तहमा आफ्नो वर्चस्व स्थापित गरेका थिए । त्यो गठबन्धन वास्तवमा माओवादी केन्द्रका लागि त सञ्जीवनी साबित भएको थियो नै, ओली पनि त्यसबाट कम लाभान्वित भएका होइनन् । उनी नेपालको इतिहासमै सबैभन्दा शक्तिशाली गठबन्धनका नेता बन्न पुगे । उनको राजनीतिक उचाइलाई २०१५ सालको संसदीय चुनावका नायक नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालासँग तुलना गरियो । उनी बीपीजस्तो शिखर व्यक्तित्वसँग दाँजिन पुग्नु आफैंमा चानचुने उपलब्धि थिएन र होइन ।

ओली–प्रचण्ड गठबन्धन दुवै कम्युनिस्टलाई लाभप्रद भएको मात्र होइन, नेपाल देश नै कम्युनिस्ट शासित मुलुकहरूको लाममा उभिन पुग्यो, त्यो पनि निर्वाचित । यो कम्युनिस्टहरूको इतिहासमा अत्यन्त दुर्लभ उपलब्धि त हो नै, बाँकी विश्वका लागि पनि आश्चर्यप्रद हो । निर्वाचित भएर कम्युनिस्ट सत्तामा, त्यो पनि संसदीय प्रथामा पुग्नु आफैंमा उदेकलाग्दो घटना हो । नेपालमा यस्तो हुन जानु स्वाभाविकजस्तै लागे पनि विश्वसमुदायका लागि यो अपत्यारिलो विषय हो, प्रस्टीकरण दिइरहनुपर्ने ।

निश्चय नै, कम्युनिस्ट पार्टी निर्वाचनद्वारा चुनिएर सत्तामा पुगेको विषयलाई एक थरीले कम्युनिस्ट रूपान्तरित भएको अर्थात् सकारात्मक अर्थमा लिएका छन् । अर्का थरी भने यिनीहरू संसदीय प्रथालाई दूषित पार्दै आफ्नो कम्युनिस्टी प्रवृत्तिलाई स्थापित गर्नतर्फ लागिरहेको बताइरहेका छन् ।एमाले र माओवादी केन्द्र एउटै वैचारिक गोत्रका भए पनि एमाले संसदीय प्रथामा रमाउन थालिसकेको, यस प्रथाबाट प्राप्त हुने निजी लाभ र पारिवारिक ऐश्वर्यमा अभ्यस्त भइसकेको तर माओवादी ढिलो गरी आएको हुँदा उसलाई निजी हितमा यसको प्रयोग गर्न पनि ढिलै भएको हो ।

ओलीले प्रचण्डलाई प्रधानमन्त्री पद छोड्ने भन्ने कुरै हास्यास्पद हो । ओलीले प्रचण्डलाई प्रधानमन्त्री दिन्छन् भनेर पत्याउनु प्रचण्ड समर्थकहरूको अज्ञान हो ।

अर्को महत्त्वपूर्ण विषयचाहिँ, यो प्रथालाई दुवैले शत्रुका रूपमा चित्रित गरेका तर व्यक्तिगत अर्थमा भने अत्यन्तै लाभप्रद भएको हुँदा पारस्परिक स्वार्थ पनि त्यत्तिकै बाझेको हो । स्वार्थ बाझ्दा झगडा हुन्छ र विशेष गरेर भागबन्डा नमिल्दा ठूलै रडाको मच्चिन्छ । यसमा दुईमत छैन, चुनाव जित्नकै लागि ओलीले प्रचण्डलाई आफूमा मिसाएका थिए । प्रचण्डलाई पनि सुरक्षित राजनीतिक आवास चाहिएको थियो । एमालेले बनाएको सांगठनिक भवन उनका लागि उपयुक्त संरक्षणस्थल बन्न सक्ने र अलि बल गर्दा ओलीपछि आफैं प्रमुख बन्न सक्ने सम्भावना पनि उनले देखेकै हुन् ।

फलस्वरूप निकै विलम्बले तर चुनावपूर्व गरिएको वाचाअनुसार दुवै पार्टी एकताको औपचारिक सूत्रमा बाँधिए, पहिला ओली त्यसपछि प्रचण्ड प्रधानमन्त्री बन्ने ‘भद्र’ सहमति गरेर । भनिरहनु नपर्ला, त्यो भद्रता देखिनलाई मात्र भद्र थियो । मनमनै भने अभद्र । हुनलाई त भागबन्डा न हो । अभद्र किनभने सत्ता राजनीतिमा यस्ता भद्र भनिने सहमति विरलै पालना गरिन्छन् र पालना गर्नु जरुरी पनि मानिँदैन । भद्र शब्द जलपका रूपमा प्रयोग भएको हुन्छ । आफ्नो अनुकूलता रहेसम्म प्राप्त पद (कम से कम नीति–नैतिकता बिर्सेका राजनीतिक खेलाडीहरूले विगतमा वाचा गरेका थिए भन्दैमा) छोड्दैनन् । छोड्नलाई मान्छे निकै साधु, महात्मा, सन्त प्रकृतिको हुनुपर्छ । कुनै बेलाका कृष्णप्रसाद भट्टराईजस्ता निस्पृह गीताध्यायी हुनुपर्छ, प्रज्ञावान् हुनुपर्छ ।

यो त सर्वविदित छ-ओली भट्टराई प्रकृतिका होइनन् । उनी भट्टराईको पाठशालाको उत्पादन होइनन् । त्यसैले उनले प्रचण्डलाई प्रधानमन्त्री बुझाउँछन् भन्ने विरलैले पत्याए र पत्याउने विषय त्यो थिएन । स्वयं प्रचण्डले नै पत्याएका थिएनन् । थिए भने त्यो उनको बालापन थियो । फेरि किन छोड्नु ओलीले प्रचण्डका लागि प्रधानमन्त्री ? के न हुन् र ओलीका नजरमा प्रचण्ड ? खिइँदै गएको संगठनका नेता, बाबुराम भट्टराई र मोहन वैद्यले छोडेका, नेत्रविक्रम चन्दको समेत पत्यार गुमाएका । रहलपहल भेला गरेर माओवादी केन्द्रका नेता बनेका ।

ओलीले त वास्तवमा कृपा गरेर उनलाई संरक्षण दिएका हुन् भन्नेहरू प्रशस्तै छन् । किनभने यसमा ओलीलाई मज्जै फाइदा थियो, कम्युनिस्टका नाममा पर्ने मत एकोहोरिन्थ्यो एकातिर भने, अर्कातिर राष्ट्रवादको मुद्दा चर्कैसँग उठिरहेकै थियो र राष्ट्रवादीहरू उनीवरिपरि गोलबद्ध भइरहेका थिए । पछिल्ला चुनाव ओली–प्रतिपादित राष्ट्रवादका नाममा भएका र उनैका अग्ला–अग्ला वाचा पत्याएर जनताले उनको नेतृत्वको गठबन्धनलाई मत दिएका थिए । फलस्वरूप, केन्द्र र ७ मध्ये ६ प्रदेशमा गठबन्धन दुईतिहाइ हाराहारी स्थान प्राप्त गर्न सफल भएको थियो । नेकपाको ओली कित्तामा यही कथ्य-कथन प्रचलित छ । चुनाव किमार्थ प्रचण्डका कारण जितेको होइन, उनको त एमालेसित सहकार्य गरेर बरु इज्जत जोगिएको हो ।

यसर्थ, यो कथानकमा विश्वास गर्नेहरू भन्छन्-ओलीले प्रचण्डलाई प्रधानमन्त्री पद छोड्ने भन्ने कुरै हास्यास्पद हो । ओलीले प्रचण्डलाई प्रधानमन्त्री दिन्छन् भनेर पत्याउनु प्रचण्ड समर्थकहरूको अज्ञानता हो । निश्चय नै, प्रधानमन्त्रीका रूपमा ओलीले गर्नुपर्ने र गर्न सक्ने कार्य प्रदर्शन गरेनन् र गर्न सक्दैनन् पनि । कार्यकौशलका दृष्टिले आफ्ना हालसालैका पूर्ववर्तीभन्दा उनी किमार्थ भिन्न भएनन् । पहिलो कार्यकालमा प्राप्त लोकप्रियतासमेत उनले जोगाउन सकेका छैनन् । देशमा उपलब्ध उत्कृष्ट बौद्धिकता उनलाई चाहिएको छैन । चाहिएको छ, उही उनको गुणगान गाउने जमात । उनी आफू आफैं सर्वज्ञाता भएको मस्तीमा छन् । तर स्वयंलाई जतिसुकै सर्वज्ञाता ठाने पनि उनका गल्ती उनी आफैं औंल्याउन सक्दैनन् । अझ गज्जब त के भने, उनको पक्षमा बोलिदिने एक मात्र उनी नै रहेछन्, न सल्लाहकार न मन्त्री रहेछन् उनको पक्षमा प्रस्तुत हुन सक्ने । उनले नियुक्ति दिएर राखेका बिचराहरूलाई आफ्नै पद जोगाउँदै ठिक्क छ । त्यसैले सरकार कुनै पनि चुनौती सामना गर्न अतत्पर छ र साथै दिनानुदिन अलोकप्रिय बन्दै गएको छ ।

तर प्रश्न फेरि उस्तै । ओली हटे आउने को त ? ओली हटेपछि आउने भरपर्दो अनुहार कुन ? यो अहम् प्रश्न हो, ओली हट्ने जनमत बन्नका लागि । ओली हटेर प्रधानमन्त्री बन्ने को त ? प्रचण्ड या अरू कोही ? एकै छिन मानिलिऔं, प्रचण्ड नै बन्ने भए प्रधानमन्त्री । उनी कुन अर्थमा ओलीभन्दा भिन्न हुनेछन्, उनले कस्तो विशेष ढंगले शासन सञ्चालन गर्नेछन् भन्ने प्रश्न स्वतः उत्पन्न हुन्छ र यस प्रश्नसँगै प्रतिप्रश्न उपस्थित हुन्छ । किनभने प्रचण्ड यसपूर्व दुईपटक प्रधानमन्त्री बनिसकेका हुन् ।

तेस्रोपटक उनी किन प्रधानमन्त्री बन्ने ? तेस्रोपटक बन्दा के विशेष हुनेवाला छ र बन्ने ! आफूलाई प्रधानमन्त्री प्रस्ताव गरिरहँदा उनले यी प्रश्नहरूको चित्तबुझ्दो जवाफ पनि दिनुपर्छ भन्ने पक्कै सोचेका छैनन् । छैनन् किनभने उनी कुनै विशेष कार्यक्रमसहित बन्ने नभएर उनलाई प्रधानमन्त्री बन्न ओलीले मार्गप्रशस्त गरिदिनुपर्ने भन्ने छ । उनी प्रधानमन्त्री बन्न ओलीले छोडिदिनुपर्ने अनि उनी बन्ने ! बडो गजब छ । वास्तवमा ओलीइतर कित्ताको कमजोरी नै यही हो र यो कमजोरी ओलीले मज्जाले छामेका छन् । त्यसैले हो, उनी जे गर्न सक्छौ गर भनिरहेका छन् ।

ओलीइतर कित्ताले यथार्थमा पार्टी सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी होइन कि संसदीय दलमा ओलीलाई आफ्नो शक्ति परीक्षा गर्न बाध्य पार्नुपर्ने हो । इतर कित्ताले अन्यत्र ऊर्जा खर्च नगरेर संसदीय दलमै ओलीलाई अल्पमतमा झार्ने उद्यम गर्नुपर्ने हो । तर कम्युनिस्टहरू पार्टी पोलिटब्युरोको शैलीबाट दीक्षित हुने भएकाले पार्टी नै सर्वेसर्वा हो भन्ने मान्छन् । जबकि संसदीय प्रथामा पार्टी सर्वेसर्वा भन्ने हुँदैन । यसको प्रकृति नै फरक छ । संसदीय प्रथामा जनादेश संसदीय दलमा प्रतिविम्बित र व्यक्त भएको हुन्छ अनि नेता बदल्ने सर्वाधिकार संसदीय दलमै निहित हुन्छ । सत्ताधारी पार्टीको संसदीय दलको नेता नै प्रधानमन्त्री हुने हुनाले त्यस्तो नेता कम्युनिस्ट सचिवालय, स्थायी कमिटी अथवा केन्द्रीय कमिटीले हटाएर हट्दैन ।

संसदीय प्रथामा जनादेश संसदीय दलमा प्रतिविम्बित र व्यक्त भएको हुन्छ अनि नेता बदल्ने सर्वाधिकार संसदीय दलमै निहित हुन्छ । सत्ताधारी पार्टीको संसदीय दलको नेता नै प्रधानमन्त्री हुने हुनाले त्यस्तो नेता कम्युनिस्ट सचिवालय, स्थायी कमिटी अथवा केन्द्रीय कमिटीले हटाएर हट्दैन ।

यसर्थ, ओलीसँग राजीनामाको कचकच गर्नुसट्टा इतर कित्ताले पहिला त संसदीय दलमा आफ्नो स्थिति मजबुत बनाउनुपर्ने हुन्छ । त्यहाँ आफ्नो स्थिति मजबुत नभई अनेकौं पृथक् कमिटीमा जतिसुकै दबाब दिए पनि त्यो काम लाग्दैन । पक्का छ, हरेक प्रहार निष्फल हुन्छ । यस प्रथाको विशेषता नै भन्नुहोस्, यसले संसदीय दलमा नेतृत्व बदल्न यथेष्ट संख्या खोज्छ र अर्को पक्षको संख्या नपुगुन्जेल जतिसुकै अलोकप्रिय भए पनि पुरानै नेतृत्वको दाइँ चलिरहन्छ अनि उसले भनिरहन्छ, ‘के भनेर दिनु राजीनामा ? जे गर्न सक्छौ, गर !’ कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार