असार २३, २०८२ सोमबार July 7, 2025

नुवाकोटमा सर्वाधिक राशिको अल्ट्रा दौड आयोजना हुने

प्रतियोगितामा राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय गरी दुई सय ५०जना बढी  खेलाडीहरूको सहभागिता रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नुवाकोटमा पहिलो पटक सर्वाधिक राशिको त्रिशूली अल्ट्रा दौड प्रतियोगिता आयोजना गरिएको छ । सर्वाधिक राशिको यस प्रतियोगिताले नुवाकोटका विभिन्न स्थानमा पर्यटकीय खेल गतिविधिमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल एडभेञ्चर रनिङ महासङ्घको आयोजनामा साहसिक तथा पर्यटकीय खेल ‘त्रिशूली अल्ट्रा–२०२५’ यही चैत्र २३ गते शनिवार नुवाकोटमा सञ्चालन गरिने तय भएको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला खेलकुद विकास समिति नुवाकोट र रसुवाको प्रवर्द्धनमा प्रतियोगिता आयोजना गरिएको आइतबार विदुरमा आयोजिते पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष एकेन्द्र बहादुर कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय गरी दुई सय ५०जना बढी  खेलाडीहरूको सहभागिता रहने छ । करिब ६० किलोमिटर दुरी रहेको प्रतियोगितामा सहभागीताका लागि दर्ता शुल्क तीन सय रुपैयाँ कायम गरिएको अध्यक्ष कुँवरले जानकारी दिए ।

प्रदेश खेलकुद विकास परिषद् बागमतीको सहयोग रहने प्रतियोगितामा महिला तथा पुरुषतर्फका विजेताहरूले समान राशि पुरस्कार प्राप्त गर्नेछन् । बेलकोटगढीबाट सुरु हुने प्रतियोगिता नुवाकोटका २० स्थान घुमेर प्रसिद्ध देवघाटमा पुगेर सम्पन्न हुने प्रतियोगिताका संयोजक तथा आयोजक महासङ्घका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जानकारी दिए ।

उनका अनुसार सो प्रतियोगिता पुरा गर्न महिला सहभागीलाई चार घण्टा र पुरुषलाई साँढे तीन घण्टा समय लाग्ने अनुमान गरिएको छ । महिला-पुरुष गरी दुई विद्यामा सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ७५ हजार, तृतीय हुनेले ५० हजार, चौथो हुनेले २० हजार, पाँचौँ हुनेले १० हजार र छैटौँदेखि दसौँसम्म हुनेले जनही ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक तथा महासङ्घका वरिष्ठ उपाध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

नुवाकोटको बेलकोटगढीस्थित निरञ्जना भगवती मन्दिर परिसरबाट सुरु हुने दौड पुरानो सिँढी बाटो, माला कोट, शेरा, मुरली टार, नुवाकोट दरबार, दारीगौंडा, फलाँटे, डाँडा गाउँ, गेर्खु शान्ति कल्याण स्कुल, चाँप टार, केरा घारी, बेत्रावती, सोले पुल, तुप्चे, त्रिशूली अस्पताल, पञ्चकन्या मन्दिर सिँढी, चार घरे, रनभुवेश्वरी स्कुल, देवी घाट पुल हुँदै पवित्र तीर्थस्थल देवी घाट बजारमा पुगेर सम्पन्न  हुनेछ । २० भन्दा बढी चेकप्वइन्ट रहने प्रतियोगितामा इच्छुक खेलाडीले महासङ्घ, नुवाकोट जिल्ला खेलकुद विकास समिति, बेल कोट युवा क्लबलगायतमा पुगेर वा  अनलाईन मार्फत् पनि  नाम दर्ता गर्न सक्न प्रतियोगिताको प्रवर्द्धक नुवाकोट खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले जानकारी दिनुभयो ।

शाहसिक खेल पर्यटन प्रवर्द्धनको लागि परिचित यस प्रतियोगितामा सञ्चालनार्थ ३२ लाख ५१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि नुवाकोटका विदुर, वेलकोटगढी नपा, लिखु र सुर्यगढी गाउँपालिका र छिमेकी रसुवाको उत्तर गया गापाको सहकार्यमा सञ्चालन हुने  प्रतियोगिताले धावकहरूलाई शारीरिक र मानसिक रूपमा चुनौती दिनुका साथै नुवाकोट क्षेत्रको प्राकृतिक सौन्दर्य, संस्कृति, र ऐतिहासिक महत्वलाई उजागर गर्ने जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया