कार्तिक २५, २०८३ बुधबार November 11, 2026

मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माण सुरु

पूर्ण रुपमा क्षति भएका घरको पुनःनिर्माण गर्ने र आंशिक रुपमा क्षति भएका घरको प्रवलीकरण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धुलिखेल (काभ्रेपलाञ्चोक) । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवासहरुको विस्तृत क्षति आँकलनको औपचारिक सुरुवात यहाँको रोशी गाउँपालिका–२ नारायणटारबाट भएको बताउनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र रोशी गाउँपालिकाको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘२०८१ को मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवासहरुको विस्तृत क्षति आँकलन(डिडिए) शुभारम्भ कार्यक्रम’मा विपद् प्रभावित परिवारको लगत सङ्कलन कार्यक्रम सम्पन्न तथा प्रभावितलाई निस्सा वितरण गर्दै उहाँले निजी आवास पुनःनिर्माण सुरु भएको बताउनुभएको हो ।

“गत असोजमा गएको बाढीपहिरोले देशका विभिन्न ठाउँमा क्षति पु¥याएकामा पुनःनिर्माण गर्ने काम आजबाट सुरु भएको छ”, उहाँले भन्नुभयो, “आजदेखि काभ्रेजिल्लाभरि क्षति भएका घरहरुको विस्तृत क्षति आँकलन प्रारम्भ भएको छ ।” सो क्रममा पूर्ण रुपमा क्षति भएका घरको पुनःनिर्माण गर्ने र आंशिक रुपमा क्षति भएका घरको प्रवलीकरण गर्ने उहाँको भनाइ छ ।

बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित जिल्ला काभ्रेपलाञ्चोक र त्यसमा पनि रोशी गाउँपालिका रहेकाले विस्तृत क्षतिको आँकलन यहीँबाट सुरवात गरेको गृहमन्त्री लेखकले बताउनुभयो । उक्त मनसुनजन्य विपद्बाट क्षति पुगेका अन्य जिल्लाको क्षतिग्रस्त निजी घरहरुको विस्तृत क्षति आँकलन प्रारम्भ गर्ने जनाएको छ ।

बजेटको व्यवस्थापन, कानुन, नीति निर्देशिका परिवर्तन गर्नुपर्ने र प्रारम्भिक क्षतिको विवरण भर्ने काममा ढिलाइ भएकाले क्षति आँकलन ढिलाइ भएको उहाँले स्पष्ट पार्नुभयो । जसमा अस्थायी आवास निर्माण गर्न दुई चरणमा रु २५÷२५ हजार रकम उपलब्ध गराउने र स्थायी घर निर्माणका लागि प्रति घर रु चार लाख उपलब्ध गराउने गृहमन्त्री लेखकले जानकारी दिनुभयो ।

अस्थायी घर निर्माणका लागि काभ्रेपलाञ्चोकका लागि रु सात करोड ३५ लाख रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आजै उपलब्ध गराइसकेको गृहमन्त्री लेखकले बताउनुभयो । अब सरकारबाट थालनी गरेको कामलाई ढिला नगरिकन तीव्रता दिन जनप्रतिनिधिलाई उहाँले आग्रह गर्नुभयो । जसमा सबै तहका सरकार र सबै राजनीतिक दलहरु मिलेर अगाडि बढ्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

सो क्रममा बोल्दै गृहमन्त्री लेखकले सडक र पुल पुनःनिर्माण सम्बन्धित मन्त्रालयसँग समन्वय गरी अगाडि बढाउने बताउनुभएको छ । क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण अगाडि बढिसकेकोमा वर्षामा पनि आवातजावत गर्न यातायात अवरुद्ध नहुने गरी काम भइरहेको उहाँको भनाइ छ ।

प्रतिनिधिसभा सदस्य सूर्यमान दोङले कतिपय ठाउँमा बस्ती बसाल्नै नसकिने गरी भएको क्षतिले अझै पुनःस्थापनाका लागि चुनौती रहेको बताउनुभयो । पहिला बस्ती भएको ठाउँको नामनिसाना नै नभएको र अरु योग्य ठाउँ पनि नभएकाको क्षतिको आँकलन गर्न समस्या हुने र पुनःस्थापनाका लागि समस्या देखिएको उहाँको भनाइ छ । काम गर्ने भन्ने तर सार्वजनिक खरिद ऐनले अवरोध सिर्जना गर्ने, आर्थिक वर्षको अन्त्यतिर आएका कारण बजेट सञ्चालन र कार्यान्वयनमा समस्या हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले यसअघि मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आँकलन गर्नका लागि बजेट अभाव भएकाले नसकेको बताउँदै बजेट व्यवस्थापनसँगै काम अगाडि बढेको बताउनुभयो ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशी गाउँपालिकाभित्रमा बाढीपहिरोबाट पीडित नागरिकलाई तत्कालका लागि उद्धार र राहत वितरणपछि मृतक परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट प्राप्त रकम वितरण, सङ्घ संस्थासँगको समन्वयमा सबै पीडित परिवारलाई तत्कालका लागि गुजारा खर्च र अवस्था अनुसार अस्थायी आवास निर्माण गरेर अब पुनःनिर्माणमा केन्द्रित भएको बताउनुभयो ।

बाढीपहिरोबाट रोशी गाउँपालिकाको ५६३ निजी घर क्षतिग्रस्त बनाएको थियो । रोशी गाउँपालिकामा पालिका र प्राधिकरणका १८ जना प्राविधिकहरु पुनःनिर्माणमा खटिसकेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार