असार २२, २०८२ आइतबार July 6, 2025

अब सक्यौँ भने ओलीलाई पनि छिट्टै निकाल्छौँ हामी : निवर्तमान ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (अन्तवार्ता)

कांग्रेस एमालेसँग सरकारमा बस्नु भनेको जानीजानी मुसाको विष खानु हो 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पदबाटै हटाउनुपर्ने गरी तपाईंले सरकारलाई के घाटा पुर्‍याइदिनुभयो ?

बिजुली उपभोग गरेको पैसा उद्योगीबाट उठाउनुपर्छ भनेर निरन्तर लडेको हो । कुलमानको पक्षमा बोलेको हो । तर, प्रधानमन्त्रीलाई यो मन परिरहेको थिएन । त्यसैले हटाउनुभयो होला ।

हटाउनुअघि यसबारे तपाईंलाई केही जानकारी दिइएको थियो कि ?

थिएन, थिएन । मलाई केही पनि जानकारी थिएन ।

पार्टी सभापति शेरबहादुर देउवा नै देशबाहिर भएका वेला बर्खास्तीमा पर्नुभयो नि ?

कांग्रेसको सभापति नै अहिले केपी ओलीले चलाएको छ त ! नभए त मेरो पार्टीले मलाई सोध्नुपर्थ्यो नि, सोध्नुपर्दैन र ? ओलीले त मलाई मन्त्री बनाएको होइन, मेरो पार्टीले बनाएको हो । हटाउनुअघि मलाई पार्टीले सोध्नुपर्थ्यो नि ।

पार्टीले एकपटक पनि नसोधीकनै हटाएकोमा तपाईंको गुनासो हो ? 

कांग्रेस पार्टी नै ओलीले चलाएको छ त कसरी सोध्छ ! नत्र पार्टीले मलाई सोध्नुपर्ने होइन ? कार्यवाहक सभापति पूर्णबहादुर खड्का हुनुहुन्छ । उपसभापति धनराज गुरुङ हुनुहुन्छ । महामन्त्रीहरू हुनुहुन्छ । कांग्रेस पार्टी नै अहिले ओलीले चलाएको अवस्था छ । नत्र अर्काको पार्टीलाई यसरी ‘बलात्कार’ गर्न पाइन्छ ?

अब के गर्नुहुन्छ ? 

केही समयपछि हट्नु थियो, अहिले नै हटाइदियो, के छ र मलाई त ? म आफ्नै घरमा बसेको थिएँ, मन्त्री क्वार्टर गएको थिइनँ । चढ्ने गाडी आफ्नै छँदै छ, भोलिदेखि ट्याक्सी चढ्नुपर्दैन मलाई । एउटा जनजातिको छोरा, पहिला कुलमानलाई निकाल्यो, त्यसपछि मलाई निकाल्यो । अब सक्यौँ भने ओलीलाई पनि छिट्टै निकाल्छौँ हामी । ओलीले पनि निस्कनुपर्छ नि एक दिन । ओलीले आजीवन प्रधानमन्त्री खाने त होइन होला ।

प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच छ भनेर तपाईंकै महामन्त्रीको आरोप छ, सरकारमा नौ महिनाको अनुभवले के भन्छ ?

पूरै बिचौलियामा छ नि । खोइ त गभर्नर बनाउन सकेको ? गभर्नर खाली भएको एक महिना हुन लागिसक्यो । मुलुक ग्रे लिस्टमा छ । सरकार कहाँ छ ? कसको हातमा छ सरकार ? ओली यो देश बनाउने पक्षमै छैनन् । ओली हरिवंश, मदनकृष्णको क्यारिकेचरजस्तो मान्छे हो । अस्ति २८ गते (२८ चैत) १ घण्टा २२ मिनेट बोले । सुगाको उखान गरेर बस्नुहुन्छ प्रधानमन्त्री । देशको प्रधानमन्त्रीले सुगाको उखान गर्ने कि सात प्रदेशमा, ७७ जिल्लामा के भइरहेको छ, गरिब कहाँ छ ? धनी कहाँ छ ? बाटो बनेको छ कि छैन ? विकास निर्माणको काम भइरहेको छ कि छैन ? शान्ति सुव्यवस्था के छ भनेर हेर्ने हो ? प्रधानमन्त्रीले उखान भनेर देश चल्छ ? कांग्रेस एमालेसँग सरकारमा बस्नु भनेको जानीजानी मुसाको विष खानु हो । कांग्रेसलाई ठुलो घाटा छ । अस्ति कुलमानको विषयमा कांग्रेसलाई घाटा पर्छ भनेर मैले अलिकति रिक्स लिएरै बोलेको हो । ओलीले त्यही रिसिइबी गरेर अहिले मलाई हटाए । एउटा जनजातिको छोराको पछि लागेकोमा ओलीलाई धन्यवाद दिनुपर्छ ।

आफ्नै पार्टीको ऊर्जामन्त्रीसँग पनि तपाईंको कुरा मिलेको थिएन नि ? 

ऊर्जामन्त्री आफ्नो बाटोमा, म मेरो बाटोमा । उहाँ संखुवासभाबाट जितेको, म रामेछापबाट जितेको । उहाँले २५–२६ हजार भोट ल्याएको, मैले ४७ हजार भोट ल्याएको । त्यो रेखांकन मिल्छ ?

प्रधानमन्त्री ओलीकै नेतृत्वमा सुशासन आयोग गठन भएलगत्तै तपाईं बर्खास्त हुनुभयो । सुशासनमा बाधा पुर्‍याउने काम गर्नुभएको थियो कि ? 

पहिला पञ्चायतकालमा जय नेपाल हलमा फिल्म हेर्दा पारिपट्टि उत्तरढोकामा हेर्न दिँदैनथ्यो । पुलिसले लगेर थुन्थ्यो । अहिले ओलीलाई ठाडो नजरले हेर्‍यो कि पञ्चायतको भन्दा ठुलो शासन छ ओलीको । अस्ति शिक्षामन्त्री विद्या भट्टराईले कुलमानलाई हटाउनुहुन्न भनेर क्याबिनेटमा भनिदिनुभयो । त्यहाँदेखि ओलीले पेलेको पेलै गरेपछि भट्टराईले राजीनामा दिनुभयो । विद्याको पार्टी एमाले थियो, उहाँले राजीनामा दिनुभयो । मलाईचाहिँ त्यसरी भनेको थिएन, मैले राजीनामा दिइनँ । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार