काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (RCB) ले आइतबार एम चिन्नास्वामी रंगशालामा भएको रोमाञ्चक खेलमा चेन्नई सुपर किंग्स (CSK) लाई २ रनले पराजित गर्दै आईपीएल २०२५ मा आफ्नो विजयी यात्रालाई मजबुत बनाएको छ।
यस जितसँगै बैंगलोरले यो सिजनको आठौं जित दर्ता गर्दै १६ अङ्कको साथ प्लेअफमा स्थान लगभग सुरक्षित गरिसकेको छ। चेन्नईमाथि यो सिजनको दोस्रो जित हासिल गर्दै आरसीबीले तालिकामा महत्त्वपूर्ण स्थान कायम राखेको छ।
पहिले ब्याटिङ गर्दै बैंगलोरले २१३ रनको विशाल योगफल खडा गर्यो। ओपनर विराट कोहलीले ४१ बलमा ६२ रन बनाउँदै सिजनको सातौं अर्धशतक पुरा गरे भने युवा ज्याकब बेथेलले ५५ रन बनाएर आईपीएल करियरको पहिलो अर्धशतक प्रहार गरे।
तर खेलको सबैभन्दा निर्णायक पारी भने रोमारियो शेफर्डले खेले। उनले अन्तिम १४ बलमा ५३ रन बनाउँदै चेन्नईका बलरहरूलाई धराशायी बनाए। उनले ६ छक्का र ४ चौकाको मद्दतले केवल २ ओभरमै ५२ रन जोडे। आरसीबीले अन्तिम २ ओभरमा कुल ५४ रन बटुलेको थियो।
२१४ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएको चेन्नईको सुरुवात कमजोर देखिएको थियो। तर आयुष म्हात्रे र रविन्द्र जडेजाले किल्ला सम्हाल्दै टोलीलाई जितको नजिक पुर्याए। अन्तिम ओभरमा १७ रन आवश्यक थियो, तर यश दयालले उत्कृष्ट बलिङ गर्दै चेन्नईलाई जित्नबाट रोके।
गत सिजन पनि यश दयालले चेन्नईविरुद्ध अन्तिम ओभरमै टोलीलाई जित दिलाएका थिए। यसपटक पनि उनले त्यही दोहोर्याउँदै म्याच जिताउने बलर बने।
पूरे खेलभरि दुवै टोलीबाट उत्कृष्ट ब्याटिङ, आंशिक कमजोर फिल्डिङ, र कतै-कतै सशक्त बलिङ पनि देखियो। खेल पहिलो ओभरदेखि अन्तिम ओभरसम्म लगातार उतार-चढावपूर्ण रह्यो। आरसीबीले टस हारेर पाँचौं पटक लगातार पहिले ब्याटिङ गरे तापनि, उत्कृष्ट सुरुवात र शेफर्डको विस्फोटक अन्त्यले ठूलो स्कोर सम्भव भयो।
यो जितले आरसीबीलाई मनोबलमा बल मिलाएको छ भने चेन्नईलाई प्लेअफ समीकरणमा दबाब थपिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया