मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

क्षयरोगको औषधि नियमित खानेलाई अण्डा, दाल र चामल

उपचारसँगै खाद्यान्न पाउँदा विपन्न परिवारका सङ्क्रमित ज्यादै खुसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

झापा, २ जेठः मेचीनगर नगरपालिकाले क्षयरोग नियन्त्रणका लागि प्रत्यक्ष निगरानीमा औषधि खान बिरामीलाई प्रोत्साहित गर्दै पोषणयुक्त खानेकुरा दिन थालेको छ ।

पन्ध्र वटा वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रमार्फत क्षयरोगका सङ्क्रमितलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने कार्यक्रमअन्तर्गत बिरामीलाई कुखुराको अण्डा, बदाम, सातु, दाल र चामल दिने गरिएको नगरप्रमुख गोपाल बुढाथोकीले बताउनुभयो ।

नगरपालिकाले विक्रम संवत् २०८३ सम्ममा मेचीनगरमा क्षयरोग नियन्त्रण गर्ने अभियान सञ्चालन गरिरहेको छ । सरकारले निःशुल्क औषधि उपलब्ध गराउँदै आए पनि बिरामीले नियमित औषधि सेवन नगरिदिँदा रोग बल्झिने र सङ्क्रमण नघट्ने समस्या छ ।

रोग लुकाएर बसिरहेकाहरुको खोजपड्ताल गर्ने र सङ्क्रमण पुष्टि भइसकेकालाई स्वास्थ्यकर्मीकै प्रत्यक्ष निगरानीमा औषधि खुवाउने व्यवस्था मिलाइएको नगरप्रमुख बुढाथोकीले बताउनुभयो । छ महिना औषधि सेवनपछि क्षयरोग निको हुन्छ ।

सङ्क्रमण पुष्टि भएका नगरवासीलाई एक बोरा चामल, एक क्यारेट कुखुराको अण्डा, एक लिटर खानेतेल, एक किलो दाल, एक किलो बदाम र एक किलो सातु नगरपालिकाले निःशुल्क उपलब्ध गराउन थालेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिनुभयो ।

नगरपालिकाले पोषणयुक्त खानेकुरा दिने भएपछि क्षयरोगका सङ्क्रमितले नियमित स्वास्थ्य केन्द्रमा जाने र औषधिसमेत नियमित रुपमा खाने गरेको पाइएको सापकोटाले बताउनुभयो । भूगोल र जनसङ्ख्याका आधारमा मुलुककै ठूलो मेचीनगर नगरपालिकामा हाल १६४ सङ्क्रमितले क्षयरोगको नियमित रुपमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि सेवन गरिरहेका छन् ।

नियमित औषधि सेवनका लागि स्वास्थ्य केन्द्र धाउनेमा ६५ वर्षमाथिको सङ्ख्या बढी छ । तीनजना एचआइभी सङ्क्रमितले समेत प्रत्यक्ष निगरानी विधि पालन गरेरै औषधि खाइरहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले क्षयरोग नियन्त्रण गर्ने लक्ष्य पूरा गर्न स्वास्थ्यकर्मीलाई गाउँ–गाउँ पठाएर नयाँ सङ्क्रमितको खोजपड्ताल गर्दै आएको छ । हाल प्रदेश सरकारको प्राविधिक सहयोगमा एआई प्रविधिजडित अत्याधुनिक एक्स–रे मेसिनमार्फत क्षयरोगका १९ जना नयाँ सङ्क्रमित पत्ता लागेको जनाइएको छ ।

क्षयरोगका बिरामी स्थानीय सरकारबाट निःशुल्क औषधि र पोषिलो खाद्य वस्तु पाउँदा हर्षित रहेको मेचीनगरका प्रवक्ता एवम् वडा नं २ का वडाध्यक्ष दीपक बराल बताउनुहुन्छ । “उपचारसँगै खाद्यान्न पाउँदा विपन्न परिवारका सङ्क्रमित ज्यादै खुसी हुन्छन्”, बराल भन्नुहन्छ, “हुनेखानेहरु सुविधासम्पन्न निजी अस्पतालमा गएर खर्च गर्न सक्छन्, तर बिहान र बेलुका हातमुख जोड्न अनिश्चित हुने गरेको विपन्न परिवारका लागि चामल, दाल, अण्डा, सातुलगायतका सामान पाउनु निकै ठूलो उपलब्धि हुँदोरहेछ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाहको भ्रमणबाट नेपाल-भारत सम्बन्ध थप सुदृढ हुने रास्वपाको विश्वास
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
२०८३ मंग्सिर ६, आइतबार
Prime Minister Shah Heads to India for Talks with Narendra Modi
२०८३ मंग्सिर ६, आइतबार
एसियन राइजिङ स्टार्स प्रतियोगिता : युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य
२०८३ मंग्सिर ६, आइतबार
नेपाल खुला विश्वविद्यालयमा भर्ना खुल्यो, MBA का लागि २.५ CGPA अनिवार्य
२०८३ मंग्सिर ६, आइतबार
ऊर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
२०८३ मंग्सिर ६, आइतबार