श्रावण २०, २०८३ बुधबार August 5, 2026

भक्तपुर अस्पतालः स्थापनाको एक सय एक्काइस वर्षमा सिटी स्क्यान सेवा सुरू

अस्पतालको आकस्मिक कक्षसँगै रहेको भवनमा १० शैय्याको डायलोसिस कक्ष तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर। वीर अस्पतालपछि स्थापना भएको दोस्रो पुरानो अस्पतालका रूपमा चिनिएको भक्तपुर अस्पतालले स्थापनाको १२० वर्षपछि पहिलोपटक सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ।

तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले चन्द्रलोक डिस्पेन्सरीको नाममा स्थापना गरेको उक्त अस्पतालमा बागमती प्रदेश सरकारले खरिद गरेर पठाएको अत्याधुनिक क्षमताको सिटी स्क्यान सञ्चालनमा आएको हो।

उक्त स्क्यान मेसिन (उपकरण)बाट औपचारिक रूपमा आइतबारदेखि बिरामीलाई सेवा प्रवाह गरिने अस्पताल प्रशासनले जनाएको छ। यसअघि मेसिन भक्तपुर अस्पतालमा ल्याएसँगै बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा र बागमती प्रदेशसभाका सांसद सुरेश श्रेष्ठले मेसिन जडान क्षेत्रको अवलोकन गरी यथाशीघ्र सञ्चालनमा ल्याएर आमनागरिकलाई सहज र सुलभ सेवा प्रवाह गर्न अस्पतालका कार्यकारी निर्देशक डा सुरेन्द्रप्रसाद भट्टलाई निर्देशन दिएका थिए।

स्वास्थ्यमन्त्री थापाले भने, ‘यो वीर अस्पतालपछिको दोस्रो अस्पताल भए पनि विगतमा राज्यले बेवास्ता गर्दा पछाडि परेको थियो। अस्पतालले विस्तारै विकासको गति लिएको छ। मन्त्रालयको बजेट र पहलमा सिटी स्क्यान सञ्चालनमा आएको छ। आगामी दिनमा अस्पताल आउने बिरामी र यहाँका जिल्लावासीले सिटी स्क्यान गर्न काठमाडौं धाउनु पर्दैन।’

अस्पतालका लागि बागमती प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयले बोलपत्र आह्वान गरी रु आठ करोड बजेटमा १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गरेर सञ्चालनमा ल्याउन लागेको उनले जानकारी दिए।

मन्त्री थापाले भने, ‘भक्तपुर अस्पतालमा एक करोड १० लाखको लागतमा मेमोग्राम मेसिन ल्याउने तयारी गरिरहेका छौँ। यो मेसिन पनि जडान गरेपछि यहाँका महिलालाई स्तन क्यान्सरको पहिचान एवं स्क्रिनिङ गर्न सजिलो हुनेछ। यी दुवै मेसिन सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति पनि सरकारले व्यवस्थापन गर्नेछ।’

कोरोना महामारीमा अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट एवं हाल बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले यो अस्पताललाई रिफर सेन्टरबाट विशेषज्ञ सेवासहितको गुणस्तरीय सेवा दिलाउन सफल भएपछि देशकै उत्कृष्ट अस्पताल घोषणा भएको थियो।

भक्तपुर अस्पतालमा सञ्चालनमा आएको सिटी स्क्यानमा १० वर्षसम्म कुनै समस्या नआउने र समस्या आइहाले तत्काल कम्पनीले मर्मत गर्नेगरी सम्झौता भएको सचिव डा गौतमले जानकारी दिइन्।

उनले भनिन्, ‘सिटी स्क्यान दिने कम्पनीले अबको १० वर्षसम्म मेसिन सञ्चालनमा कुनै समस्या नआउने गरी ‘ग्यारेन्टी’ गर्दै सम्झौता गरेको छ, मेसिन सञ्चालनका लागि आवश्यक पर्ने सामग्रीसमेत १० वर्षसम्म पुग्नेगरी व्यवस्था गरेको छ, कम्तीमा १० वर्षसम्म यो मेसिन ढुक्कसँग सञ्चालन हुन्छ।’

उनले अस्पतालको आकस्मिक कक्षसँगै रहेको भवनमा १० शैय्याको डायलोसिस कक्ष तयार पारिएको जनाउँदै केन्द्रीय सरकारले डायलोसिस मेसिन सहयोग गरे दैनिक कम्तीमा एक सय बिरामीलाई सेवा दिन सकिने बताइन्।

अस्पतालका कार्यकारी निर्देशक डा भट्टले सिटी स्क्यान जडान गरी परीक्षण सम्पन्न गरिएको बताउँदै आइतबार बिहान उद्घाटन गरेसँगै औपचारिक रूपमा सञ्चालनमा आउने उल्लेख गरे। उनले अब बिरामीले सिटी स्क्यान गर्न अन्य अस्पतालमा महँगो शुल्क तिरेर धाउनु नपर्ने बताए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्दोलनरत नर्स र सरकार बिच १९ बुँदे सहमति, नर्स ज्योतिले तोडिन् अनशन
२०८३ श्रावण २०, बुधबार
सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
२०८३ श्रावण २०, बुधबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण २०, बुधबार
भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो
२०८३ श्रावण २०, बुधबार
विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
२०८३ श्रावण २०, बुधबार
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ श्रावण २०, बुधबार
राष्ट्र बैंकले तोक्यो बुधबारको विदेशी मुद्राको नयाँ विनिमयदर, डलर १५२.९१ रुपैयाँ पुग्यो
२०८३ श्रावण २०, बुधबार