असार २४, २०८२ मंगलबार July 8, 2025

कोरोनाका मृतकको अन्त्येष्टि- हरिहर वस्ती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आठ महिनायता विश्वलाई नै आतंकित बनाइरहेको कोरोना भाइरस रोग (कोभिड-१९) बाट आजसम्म लाखौं व्यक्तिले ज्यान गुमाइसकेका छन्, करोडौं संक्रमित छन् । यो रोग नेपालमा पनि बाढीजस्तो देखिएको छ । यसबाट मृत्यु भएकाहरूको अन्तिम संस्कारलाई लिएर परिवारजन लगायतले ठूलो चुनौती सामना गर्नुपरिरहेको छ ।

राजधानीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्नुअघि सोमबार कोरोना संक्रमितको शवमा फूल चढाउँदै सैनिक । विश्व स्वास्थ्य संगठन लगायतका संस्था तथा सबै देशले समेत कोरोनापीडितहरूको शवको व्यवस्थापन कसरी गर्ने भनी विभिन्न निर्देशिका तथा प्रोटोकलहरू लागू गरेको धेरै महिना बितिसकेको छ । तर नेपाली जनमानसमा त्यसबारे प्रशिक्षण र सूचनाको सरल प्रवाह नगरिएकाले विभिन्न भ्रम तथा शंका उब्जिरहेका छन् ।

फलस्वरूप कोरोनाबाट मृत्यु भएकाहरूको शवको व्यवस्थापनमा अनावश्यक जटिलता उत्पन्न भएको छ र मानव शरीरले मृत्युपछि पाउनुपर्ने न्यूनतम संस्कारमा समेत ठूलो विचलन आइरहेको छ । कुनै पनि सभ्य समाजको ठूलो मापक त्यस समाजको नागरिकलाई मरेपछि गरिने व्यवहार हो भन्ने विश्वव्यापी मान्यता हुँदाहुदै पनि कोरोनाकालमा मानव सभ्यता जनावरहरूको संस्कारभन्दा पनि पछाडि फर्कंदै त छैन भनी सोच्ने बेला भइसकेको छ ।

शव व्यवस्थापनमा जटिलताका कारण

१. डर : कोभिड–१९ बाट मृत्यु भएकाहरूलाई लिएर स्वास्थ्यकर्मी, शववाहन चालक, आफन्त तथा सम्बन्धित जोकोही अत्यधिक डराएको देखिन्छ । मुर्दाबाट कोरोना भाइरस रेडिएसनझैं अन्यत्र फैलन्छ वा बमजस्तो विस्फोट नै भइहाल्छ कि भनी तिनीहरू त्रस्त हुने गरेका छन् । तर, त्यस्तो सम्भावना कत्ति पनि हुन्न । असुरक्षित रूपले शवको प्रत्यक्ष सम्पर्कमा आउनबाट चाहिँ बच्नुपर्छ ।

२. अन्तिम संस्कार गर्ने ठाउँसम्बन्धी विवाद : साबिकका दाहसंस्कार वा समाधिस्थ गरिने घाटहरूमा समुदायका व्यक्तिहरूले नै अन्तिम संस्कार गर्न निषेध गरेको देखिन्छ, जुन गलत छ । शव जलाउँदा सयौंदेखि हजारौं डिग्री सेन्टिग्रेडको तापक्रम पैदा हुन्छ र शरीर खरानी बन्छ । यसरी खरानी हुँदा कोभिड मात्र हैन, सबै भाइरस तथा ब्याक्टेरियाहरू पूर्ण रूपमा नष्ट हुन्छन् । पानी उम्लनेसम्मको तापक्रमले नै कोभिड भाइरस नष्ट हुन्छ भनी वैज्ञानिकहरूले पुष्टि गरिसकेका छन् । जलेर बाँकी रहेको खरानी वा अस्तु संकलन गर्नसमेत कुनै खतरा छैन । जमिनमा पाँच–छ फिट तल गाडिएको शवबाट भाइरस बाहिरी वातावरणमा आउँदैन ।

३. शव व्यवस्थापनमा ढिलाइ : मृत्युपछि तत्काल अन्त्येष्टि प्रक्रियामा लाग्नु धेरैजसो धर्म तथा संस्कारको मान्यता हो । जिल्ला कोभिड व्यवस्थापन समितिको संलग्नता हुनुपर्ने कारणले पनि कतिपय अवस्थामा ढिलाइ भएको देखिन्छ । मृत्युजस्तो अति संवेदनशील अवस्थामा कुनै प्रशासकीय वा कागजी झमेला नगरी सम्बन्धित निकायले कागजात तथा मानव संसाधनको तुरुन्त व्यवस्था गरिदिनुपर्छ ।

४. प्रशिक्षणको अभाव : शववाहन चालक तथा शवसँग प्रत्यक्ष सम्पर्क गर्ने व्यक्तिहरू उचित प्रशिक्षणको अभावले गर्दा आफ्नो दायित्व वहन गर्न हच्केका छन् । जिम्मेवार निकायहरूले उचित ध्यान दिई नियमित प्रशिक्षणको व्यवस्था गर्नुपर्छ । यस्तो कार्यमा आफैं अगाडि आउने स्वयंसेवकहरूलाई संलग्न गराउन सक्नुपर्छ र आवश्यक सुरक्षा सामग्री उपलब्ध गराई अन्य सबै तरिकाद्वारा प्रोत्साहित गर्नुपर्छ ।

५. समुदायमा बढ्दो मानसिक तनाव : सामाजिक तथा सांस्कृतिक पक्षसँग जोडिएको मृत्युपछिको अन्तिम संस्कारबारे मानिसहरूमा कोभिडले मरियो भने अगति परिने भैयो, अन्त्येष्टि तथा काजकिरियासमेत प्रचलनअनुसार हुँदैन भनी एक प्रकारको सांस्कृतिक आतंक पैदा भएको छ । माथि उल्लिखित प्रक्रियालाई सरल रूपमा व्यवहारमा उतार्न सके कसैमा पनि अनावश्यक मानसिक तनाव पर्दैन ।

शव व्यवस्थापनमा सुरक्षाका उपाय

१. अस्पताल वा घरमा जहाँसुकै मृत्यु भए पनि कोरोना शंकास्पद वा यकिन दुवै अवस्थाका शवहरूको यथाशक्य चाँडो अन्त्येष्टि गर्ने ।

२. परम्परागत स्थानमै प्रचलित विधिअनुसार दाहसंस्कार वा समाधिस्थ गर्ने ।

३. शवलाई उठाउँदा, घाट लैजाँदा, चितामा राख्दा वा गाड्ने तयारी गर्दा गर्नुपर्ने प्रक्रियामा विशेष सावधानी अपनाउनुपर्ने हुँदा त्यसअघि व्यक्तिगत सुरक्षाका सामग्री (जस्तो : मास्क, पन्जा, टोपी, चस्मा, गाउन आदि) लगाउने ।

४. धेरै मलामी जम्मा नहुने । भौतिक तथा सामाजिक दूरी पालना गरी एक–दुई दर्जन मानिस जम्मा भई अन्त्येष्टि गर्दा फरक पर्दैन । भौतिक तथा सामाजिक दूरी र मास्कको प्रयोग अरू सामान्य अवस्थामा पनि अत्यावश्यक भैसकेको अवस्थामा अन्त्येष्टि गर्दा पनि यो नियम पालना गर्नुपर्छ ।

५. वृद्धवृद्धा, केटाकेटी तथा अन्य शारीरिक रोगका कारण कमजोर स्वास्थ्य भएका व्यक्तिहरू अन्त्येष्टिमा सहभागी नहुने ।

६. अन्तिम संस्कारको प्रक्रियामा मुखमा पानी चुहाइदिने, ढोग्ने, अँगालो हाल्ने, मिचीमिची धुने–नुहाउने जस्ता प्रक्रिया नगर्ने । एक मिटरको दूरीबाट हेर्दा, जल छर्कंदा, नमस्कार गर्दार्, फूल चढाउँदा जोखिम हुन्न ।

७. शवसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिले हरेक चरणमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने ।

८. शववाहनका चालकले मास्क, पन्जा लगाएर मात्र गाडी चलाएमा पनि कोरोना सर्ने सम्भावना देखिँदैन ।

९. शवसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूले अन्त्येष्टि सकिएपछि बाहिरी सबै कपडा, जुत्ता, टोपी आदि डिस्पोजेबल भए सुरक्षित स्थानमा संकलन गर्ने र त्यसको उचित उपचार गरी थन्काउने वा जलाउने । पुनर्प्रयोग गर्नुपर्ने वर्गका भए १ प्रतिशत क्लोरिनको झोलले निर्मलीकरण गरी धुने–पखाल्ने र घाममा सुकाउने ।

१०. माथि उल्लिखित बुँदाहरू पालना गर्न मृतकका परिवारका सदस्यहरू सधैं सक्षम नहुन सक्छन् भनी जिल्लास्थित कोरोना व्यवस्थापन समितिले विशेष प्रशिक्षण दिएका व्यक्तिहरूको टोलीबाट शवको व्यवस्थापन गर्ने भनिएको हो । अरू कसैले हेर्नै नहुने र अरू कोही मलामीसमेत जान नहुने भन्ने होइन ।

११. अन्य शव नछुने मलामीहरूले अरू समयमा जस्तै लगाएका कपडाहरू धुने र नुहाइ–धुवाइ गरेमा पर्याप्त हुन्छ ।

हाल समुदायमा देखिएका विविध भ्रमबाट र कार्यान्वयनमा देखिएका अनावश्यक जटिलताका कारण कोभिडसँग जोडिएका अन्त्येष्टि कर्महरू समस्यामूलक देखिएका छन् । यसमा तथ्यगत कारण भने छैन । सामान्य अवस्थाको अन्त्येष्टिभन्दा अहिलेकामा फरक भनेको केवल सावधानीको हो, जुन कुरा जीवित मान्छेका गतिविधिहरूमा पनि अपनाइएका छन् । जिउँदा व्यक्ति वा बिरामीबाट कोभिड सर्ने खतरा शवबाट भन्दा धेरै गुणा बढी हुन्छ । होस पुर्‍याई शवको व्यवस्थापन गरेमा रोग सर्ने जोखिम छैन । सरकारद्वारा तयार निर्देशिकाको सानो ब्रसर बनाई समुदायसम्म वितरण गर्ने र शव व्यवस्थापनमा प्रत्यक्ष जोडिने व्यक्तिहरूलाई सामान्य प्रशिक्षण मात्र दिने हो भने अन्त्येष्टिसँग जोडिएका भ्रमहरूबाट सबै मुक्त हुन सक्छन् । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार