श्रावण २०, २०८३ बुधबार August 5, 2026

मनाङ पूर्ण खोप सुनिश्चित घोषणा

चालु आर्थिक वर्षमा १६ देखि ५९ महिनासम्मका एक सय ५० बालबालिकालाई पूर्ण खोप लगाइएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मनाङ, ११ जेठः पूर्ण खोपलाई दिगोपना कायम राख्ने उद्देश्यले मनाङलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । मनाङका चारवटै स्थानीय तहमा पालिकास्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भइसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

राष्ट्रिय खोप तालिकाअनुसार १६ देखि २३ महिनासम्म वा १६ देखि ५९ महिनासम्मका बालबालिकाले पाउनुपर्ने सबै खोप पाएको सुनिश्चित गरेर मात्रै पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख रविना ठगुन्नाले जानकारी दिनुभयो ।

गत वैशाख ३१ गते चारवटै पालिका पूर्ण खोप सुनिश्चितता भएपछि जिल्लालाई पनि घोषणा गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय मनाङका प्रमुख रविना ठगुन्नाले जानकारी दिनुभयो । नासोँ गाउँपालिका गत वैशाख १२ गते, मनाङ ङिस्याङ गाउँपालिका गत वैशाख २२ गते, नार्पाभूमि गाउँपालिका गत वैशाख २४ र चामे गाउँपालिका गत वैशाख २६ गते पूर्ण खोप सुनिश्चित भइसकेपछि जिल्लालाई पनि घोषणा गरिएको उहाँले बताउनुभयो ।

मनाङमा खोप लगाउने उमेरका कोही पनि बालबालिका नछुटेका, सबैले खोप पाएको सुनिश्चित भएपछि मात्रै घोषणा गरिन्छ । प्रमुख ठगुन्नाले चालु आर्थिक वर्षमा १६ देखि ५९ महिनासम्मका एक सय ५० बालबालिकालाई पूर्ण खोप लगाइएको बताउनुभयो ।

“१५ महिनामा दादुरा र रुबेलाको खोप लगाइसकेपछि मात्रै पूर्ण खोप हुने हो”, प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी राजेन्द्र श्रेष्ठले भन्नुभयो, “पहिला सबै घरधुरी सर्भे गरिन्छ, त्यसपछि ती घरमा बालबालिका छुटेका छन् कि छैनन् भनी वडाले प्रमाणीकरण गरिसकेपछि पालिका हुँदै अन्तिममा मात्र जिल्लाले अनुगमनम गरी प्रमाणित हुन्छ र घोषणा गरिन्छ ।”

गत वैशाख ३१ गते चामे गाउँपालिकाका प्रमुख लोकेन्द्रबहादुर घलेको अध्यक्षता तथा गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकको प्रमुख आतिथ्यतामा मनाङ जिल्ला पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा गरिएको हो ।

विसं २०७३ चैत २५ गते मनाङ जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको थियो । हालका दिनसम्म उक्त कार्यलाई निरन्तरता दिई पूर्ण खोप सुनिश्चित गरी दिगोपना कायम राख्नेगरी सम्पूर्ण सरोकारवालाले प्रतिबद्धतासहित घोषणा गरिएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया