असार २०, २०८२ शुक्रबार July 4, 2025

करोडौं चलखेल गर्न कवाडी व्यवसायी हटाउँदै

कर्मचारी आतंकित, प्रमुख प्रशासकीय अधिकृतलाई दबाब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका सल्लाहकारले राजधानीको फोहोर व्यवस्थापनको नाममा करोडौं रुपियाँको चलखेल शुरु गरेका छन् । कवाडी व्यवसायलाई विस्थापित गरी फोहोर संकलन गर्ने व्यवसायलाई पोसेर घरघुरीबाट संकलित फोहोरबापत रुपियाँको चलखेल शुरु गरेको हो । कामपा वातावरण विभागको सबै काम हस्तक्षेप गर्ने सल्लाहकार सुनील लम्सालले फोहोर संकलनमा सेटिङ गर्न शुरु गरेका छन् ।

उच्चस्रोतका अनुसार लम्सालले कामपाका वातावरण व्यवस्थापन विभागका उच्चतहका कर्मचारीलाई ६ सेक्टरमा विभाजित गरेको टेन्डर तत्काल स्वीकृत गर्न दवाब दिने गरेका छन् । ‘६ वटा सेक्टर छन् । सबै सेक्टरले फोहोर संकलन गरेबापत वार्षिक शुल्क तिर्नुपर्छ । टेन्टर सार्वजनिक गर्दै आफू निकटका ठेकेदारसँग साँठगाँठ गरी शुरुमै बार्गेनिङ गरिरहेका छन्’ –उच्चस्रोतले नेपाल समाचारपत्रसँग भन्यो ।

विभागैपिच्छे सल्लाहकार राखेर आतंक सिर्जना गरेका मेयर साहले हरेक विभागीय प्रमुखको काम सल्लाहकारबाटै अवलोकन गरी स्वीकृत गर्न लगाउँछन् । मेयरका अवैतनिक सल्लाहकार लम्सालले वातावरण व्यवस्थापन विभागको सबै काम मिलाउने मुख्य व्यक्ति हुन् । पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृतलाई विभिन्न निर्णयमा हस्ताक्षर गर्न दबाब दिने गरेका उनले वातावरण व्यवस्थापन विभागका सबै काममा हस्तक्षेप गरेर निर्णय गर्ने गरेका छन् ।

आफूले हस्ताक्षर नगरी कर्मचारीलाई दबाब दिन थालेका सल्लाहकार लम्सालको नियुक्तिको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । फोहोर व्यवस्थापनको नामममा लम्सालले गरेका आदेशको कर्मचारीले अटेर गर्न थालेका छन् ।

‘पछिल्लो समय कामपा प्रहरी प्रमुख राजु पाण्डेलाई प्रयोग गरी सबै कवाडी व्यवसाय हटाउने र फोहोर संकलन गर्ने कम्पनीलाई कवाडी संकलन र र बिक्री गर्न दिने निर्णय गर्दे विभिन्न चरणको टेन्डर खोलेको हो’ –स्रोतले भन्यो ।

कामपाभित्र करिब ३ लाख संख्याको घरधुरीको फोहोर र कवाडी संकलन गरी करोडौं चलखेल गर्नु रहेको छ । वर्षभरिमा एउटा घरबाट पुराना पत्रपत्रिका तथा कागज निस्कन्छ होला, खाली सिसी, वियरका बोतल, फलामका टुक्रा र प्लास्टिकका बिग्रेका सामानहरु पनि निस्कन्छ होला ?

माथि उल्लेखित कवाडी समानहरु वर्षभरिमा अन्दाजी ५ हजारको बेच्नुहुन्छ ? वा अर्को घरले १० हजारको बेच्ला त्यस्तै अर्कोले २० हजारको बेच्ला कसैकसैले २५ हजारको बेच्ला यस हिसाबले औसतमा एक घरधुरीबाट १० हजारको कवाडी उत्पादन हुँदा ३ लाख घरधुरी बराबर ३ अर्ब रुपियाँ बराबरको कवाडी मालसामान वार्षिक रुपमा महानगरपालिका क्षेत्रमा उत्पादन हुन्छ ।

यस सम्बन्धमा महानगपालिकाले कुनै अनुसन्धान तथा सर्वे गरेको दस्तावेज उपलब्ध गराउँदैन । त्यस्तो उत्पादन औसतमा २० हजारको भए त्यो रकम वार्षिक ६ अर्ब बराबरको कवाडी माल उत्पादन हुन्छ । त्यसलाई मिलाउन नेपवेष्ट कम्पनीलाई नदिई कमाउ धन्दामा लागेको एक कर्मचारीको आरोप छ ।

कवाडी सामानहरु घरघरबाट निस्कन्छ, त्यो अहिले तपाईंले साइकलवाला कवाडीलाई बेच्नुहुन्छ । त्यस्ता कवाडीले घरबाट नै कवाडी सामानहरु उठाउँछन् र कवाडी संकलन केन्द्रमा लगेर बेच्छन् र कवाडी संकलन केन्द्रहरुले समूह छुट्याई नियमानुसारको कर पालिकाहरुलाई बुझाई निकासी गर्दछन् ।

महानगरपालिकाभित्रका कवाडी संकलन केन्द्रहरुमा बालेनको आदेशले डोजर लगाउने त्यस्तै कवाडी संकलक साइकलवालाहरुलाई लछारपछार गरी साइकल लुट्ने गरेका छन् । पछिल्लो यो अभ्यासबाट पूर्णरुपमा कवाडी निषेध गर्ने र महानगबासीको घरबाट सडकमा फोहोरका रुपमा कवाडी सामान निकाल्न बाध्य पार्ने योजना महानगरको छ । कवाडी माल सडकमा फोहोरका रुपमा निकाल्न बाध्य पार्नुमा बालेनको फोहोर व्यवस्थापन मोडललाई बुझ्न पर्ने हुन्छ । यसरी करोडौं रुपियाँ उठाउने योजनामा मेयरको सचिवालय रहेको कर्मचारीको भनाइ छ ।

२०६६ सालमा फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन गर्न काठमाडौं उपत्यका एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाको परिकल्पना गरेको थियो । काठमाडौं महानगरपालिकार कीर्तिपुर नगरपालिकाबाहेकका काठमाडौं जिल्लाका अन्य स्थानीय निकायलाई समेटी परियोजना विकास भएको थियो । केही प्राविधिक र केही व्यवस्थापकीय विषयहरुलाई समेट्दै केन्द्रले परियोजना प्रस्ताव तयार गरी सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत निर्माण, सञ्चालन र हस्तान्तरण विधि अनुरुप कार्य गर्ने गरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुने गरी तीनवटै प्याकेज आह्वान गरेको थियो । त्यसमध्ये कामपाको फोहोर व्यवस्थापन विषय प्याकेज १ मा समेटिएको थियो । तर प्याकेजमा समेटेर टेन्डर पाएको कम्पनीलाई काम गर्न नदिएर मनोमानीरुपमा कामपाले चलखेल शुरु गरेको अन्य स्थानीय तहको आरोप छ । नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया