काठमाडौं। गणतन्त्र स्थापनाको १७औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा राजधानी काठमाडौंका सडकहरू राजनीतिक हुँकारले तातिएका छन् । एकातिर पूर्वपञ्चहरूको नेतृत्वमा हिन्दू धर्मसहितको राजतन्त्र पुनःस्थापनाको मागसहित आन्दोलनको घोषणा गरिएको छ भने अर्कोतिर सत्तारूढ नेकपा एमालेले गणतन्त्र दिवसलाई भव्य उत्सवका रूपमा मनाउने तयारी गर्दै कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
दुवै पक्षले आफ्ना कार्यक्रम राजधानीको रत्नपार्क केन्द्रित गर्ने अडान राखेपछि सुरक्षाकर्मीहरूको तयारी उच्च सतर्कतामा पुगेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले मंगलवारदेखि नै उपत्यकाभरिको सुरक्षा कडा बनाएका छन् । शंकास्पद स्थानहरूमा छापा मार्ने, हुलदंगा गर्न सक्ने समूहको गतिविधि निगरानी गर्ने, परिचालन योजनालाई अपडेट गर्ने कार्य तीव्र पारिएको छ ।
उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले जेठ १५ गतेको कार्यक्रमलाई लक्षित गर्दै ‘जस्तो स्थिति आउँछ, त्यसैअनुरूप बल परिचालन हुने’ भन्दै राजधानीमा कुनै अवाञ्छित गतिविधि हुन नदिने दाबी गर्नुभयो । उहाँले भनुभयो– ‘विगतदेखि नै विभिन्न पाठ सिक्दै आएका छौं, तयारी मजबुत छ, स्थितिलाई नियन्त्रणमा राखिने छ ।’
सुरक्षा निकायले पूर्वपञ्चहरूलाई बल्खु क्षेत्रमा आन्दोलन गर्न आग्रह गरेको भए पनि उनीहरूले रत्नपार्कमै कार्यक्रम गर्ने अडान कायमै राखेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलन अहिंसात्मक हुने दाबी गरे पनि प्रहरीका उच्च स्रोतले आन्दोलनलाई हिंसात्मक बनाउने तयारी भइरहेको जानकारी प्राप्त भएको जनाएका छन् । यसैले जिल्ला सुरक्षा समिति र अन्तर जिल्ला सुरक्षा समन्वय समितिहरूको बैठक बसेर सुरक्षा परिचालन एकीकृत ढंगले गर्ने निर्णय गरिएको बताइएको छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता, नायब महानिरीक्षक कालिदास धौवजीले चैत १५ गतेको घटनाबाट सिक्दै सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘भोलिको कार्यक्रम शान्तिपूर्ण बनोस् भन्ने चाहना छ, तर परिस्थिति भड्काउने प्रयास देखिएकाले हामी उच्च सतर्कतामा छौं ।’
नेकपा एमालेले भने गणतन्त्र दिवसको अवसरमा भृकुटीमण्डपमा भव्य कार्यक्रम गर्ने घोषणा गरेको छ । एमाले नेतृ छाया शर्मा भन्नुहुन्छ– ‘गणतन्त्र हाम्रो साझा उपलब्धि हो, यसलाई बलियो बनाउन हामी सडकमा उत्सवको माहोल सिर्जना गर्नेछौं ।’
उता, राजतन्त्र पुनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीले भन्नुभयो– ‘सरकारप्रति हाम्रो आक्रोश बढेको छ । अबको आन्दोलन सशक्त हुनेछ, तर हामी अहिंसाका पक्षधर हौं ।’ तर, भित्री तयारी भने परिस्थितिलाई अस्थिर बनाउने खालको रहेको सूचना सुरक्षा निकायले पाएपछि राजधानीका मुख्य नाका, चोक र सम्भावित भीडभाड हुने स्थानमा बाक्लो सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ ।
प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार ‘स्थिति असामान्य भए जे पनि हुन सक्छ’ भन्ने बुझाइसहित सबै सुरक्षा संयन्त्र सतर्क अवस्थामा राखिएको छ । कति संख्यामा सुरक्षाकर्मी परिचालन हुने भन्ने विवरण गोप्य राख्ने निर्णय गरिएको छ । सुरक्षाकर्मीको संख्या र रणनीतिका विषयमा सुरक्षा निकायका प्रवक्ताहरूले पनि कुनै विवरण सार्वजनिक नगर्ने बताएका छन् ।
यसैबीच, राजनीतिक वृत्तमा पनि तनाब बढ्दै गएको छ । सत्ता पक्षले उत्सवमा जनताको सहभागिता बढाउने तयारी गरिरहेका बेला पूर्वपञ्चहरू राजतन्त्रको माग राख्दै सडकमा उत्रन लागेका छन् । स्थिति जटिल बनेको भन्दै विश्लेषकहरूले सरकार, सुरक्षा निकाय र आन्दोलनरत समूह सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् ।
गणतन्त्रको उत्सव र राजतन्त्रको आन्दोलन एकैदिन र एकैस्थानमा हुँदा राजधानीको शान्ति र सुरक्षामा गम्भीर चुनौती देखिएको छ । यसले कुनै अप्रिय घटना हुन नदिन सुरक्षा संयन्त्रलाई अझ बढी जिम्मेवार र सतर्क रहनुपर्ने आवश्यकता औंल्याएको छ ।… नेपाल समाचारपत्रबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया