श्रावण ५, २०८२ सोमबार July 21, 2025

जन्मकैदको सजाय पाएका पूर्वमन्त्री आलम उच्च अदालतबाट सफाइ पाएपछि रिहा

जिल्ला अदालतको निर्णय उल्टाउँदै आलमसहित अन्य आरोपितलाई सफाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, जेठ १४ ।  बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलम उच्च अदालतबाट सफाइ पाएपछि बुधबार रिहा भएका छन्।

ललितपुरस्थित नख्खु कारागारमा थुनामा रहेका आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा दोषमुक्त ठहर गरेपछि रिहा गरिएको हो।

उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको निर्णय उल्टाउँदै आलमसहित अन्य आरोपितलाई सफाइ दिएको हो। यसअघि रौतहट जिल्ला अदालतले अफताब आलमसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको थियो।

विस्फोटनको घटना सन् २००८ मा रौतहटको राजपुरमा भएको थियो। त्यतिबेला आलममाथि बम बनाउने क्रममा घाइते भएका कार्यकर्तालाई उपचारको साटो इँटाभट्टामा हालेर हत्या गरिएको आरोप लागेको थियो। सो घटनामा २३ जनाको मृत्यु भएको दावी अभियोगपत्रमा उल्लेख थियो।

यस मुद्दामा अनुसन्धानपछि २०७६ सालमा आलमलाई पक्राउ गरि मुद्दा चलाइएको थियो। जिल्ला अदालतबाट दोषी ठहर भई जेल सजाय भोगिरहेका आलम उच्च अदालतबाट निर्दोष ठहर भएसँगै करीब पाँच वर्षपछि जेलमुक्त भएका हुन्।

उच्च अदालतको निर्णयपछि आलमलाई समर्थकहरूले नख्खु जेलको गेटमा स्वागत गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया