कार्तिक २९, २०८३ आइतबार November 15, 2026

सिथि नखः पर्व मनाउनँदै नेवार समुदाय

सिथि नखःको दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भादगाउँ (भक्तपुर), जेठ १८ ः जेष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात् नेवार समुदायले वर्षभरिको अन्तिम पर्वका रूपमा आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् । सिथि नखः पर्वको नेवार समुदायमा विशेष महत्व छ । यो चाडसँगै वर्षा सुरु हुने र किसानको वर्षको महत्त्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने भएकाले यस चाडलाई अन्तिम चाडका रूपमा मनाइन्छ ।

भगवान कुमारको जन्मदिनसमेत भएकाले यस दिन नेवार समुदाय कुमारको पूजा गरी मास, मुगी, केराउलगायत दलहनबाट बनेका विशेष प्रकारका पकवान बारा खाने प्रचलन छ । यस वर्ष घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (भुटेको गहुँको पिठोमा चिनी मिसाएर मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ । साथै चटामरी, पापड, गहुँको मालपुवालगायत पकवान खाने चलन पनि रहेको छ ।

सिथि नखःको दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् । वर्षात्को बेला बगेर आउने भेल र फोहर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरि सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो । साथै हिउँदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षात्को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरिएको हो ।

सिथि नखःको दिन किसानले खेतबारीमा काम गर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेकाले एकाबिहानै घरमा रहेका गाईवस्तुको गोबर मल, कम्पोष्ट मललाई खेतबारीमा पुर्याउने गर्छन् । त्यसपछि आफ्नो घर सफा गरी सिथि नखः पर्व मनाउन व्यस्त हुन्छन् । यस दिन खेतको माटोलाई चोट पुर्याउन नहुने धार्मिक मान्यता छ ।

संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ नेवार समुदायमा सिथि नखःको दुई कारणले विशेष महत्व राख्ने गरेको बताउनुहुन्छ । पहिलो सिथि नखः महादेव पार्वतीका ज्येष्ठ सुपुत्र कुमारको जन्मदिन । यसले गर्दा धार्मिक महत्वको पर्वका रूपमा लिइन्छ । गणेश देवताका गणनायक हुन् भने कुमार देवगणका सेनापति हुन् । देवीदेवतामध्ये सबैभन्दा पहिला पूजा गरिने कुमारको पूजा आराधना गर्नाले वर्षात्को बेला धान रोपाइँजस्तो कृषिकार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास रहेको उहाँले जानकारी दिनुभयो ।

नेवार समुदाय कला, संस्कृति र सांस्कृतिक मनोरञ्जनका पारखी हुन्छन् । उनीहरु वर्षभरि अनेकथरि कला, सांस्कृतिक झाँकी र सांस्कृतिक चाडपर्व मनाउने गर्दछन् । तर वर्षासँगै ती सबै थाँती राखी धान बाली लगाउन व्यस्त हुन्छन् । नेवारीमा प्रचलित एउटा भनाइ छ, “मनु स्युसाः लप्ते कुसाँ तपुया साँ न्हापाँ सिना ज्याः सिद्यके माः” अर्थात् “मान्छे मरे घुमले छोपेर भए पनि पहिला धान रोपाइँ सक्नुपर्छ”, भन्ने मान्यताले पनि धानखेतीको महत्व र प्राथमिकतालाई झल्काउँछ । यस्तो अवसरमा किसानलाई जात्रा पर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिक रूपले पनि तयार पार्ने चाडका रूपमा सिथि नखःको विशेष महत्व रहने गरेको प्रा डा श्रेष्ठको कथन छ ।

धानखेती धेरै मेहेनत र परिश्रमयुक्त खेती हो । वर्षात्को झरीमा रुझेर, हिलो माटोसँग पौँठेजोरी खेल्दै गरिने धान रोपाइँलाई अन्य खेतीपातीमा भन्दा बढी नै शक्ति र तागत आवश्यक पर्छ । यही तथ्य बुझेर नेवार समुदायले सिथि नखःको दिन शरीरमा तागत उत्पन्न गराउने मास र मुगीका बारा, चटामरी, पापड, गहुँको मालपुवालगायत पकवान खाने चलन छ । साथै नयाँ गहुँको पिठोको विभिन्न प्रकारका रोटी खाने चलन पनि रहेको छ ।

यस दिन बारा, चटामरी, म्हुछ्यामढीलगायत पकवान खानाले शरीरमा तागत उत्पन्न हुने र वर्षायाममा धानखेती गर्न आवश्यक बल पुग्ने जनविश्वास रहँदै आएको छ । साथै आजको दिन शुद्ध भई नवदुर्गा भवानी र शिक्तिपीठहरूको पूजा गरी नयाँ गहुँबाट तयार गरिएको म्हुछ्यामढी चढाउनाले गहुँ उत्पादनमा बृद्धि हुनुका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख, शान्ति हुने जनविश्वाससमेत रहेको पाइन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार