असार २३, २०८२ सोमबार July 7, 2025

राजावादी र मण्डलेहरू एमालेविरुद्ध सुनियोजित आक्रमण गरिरहेका छन् : शंकर पोखरेल

नेपाली समाजलाई पछाडि फर्काउने कुतसित मनसाय बोकेर केही शक्तिहरू भ्रमको खेतीमा लागे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली समाजलाई पछाडि फर्काउने कुतसित मनसाय बोकेर केही शक्तिहरू भ्रमको खेतीमा लागेका बताएका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै नेपाली राजनीतिमा जनताको बलिदानबाट स्थापित लोकतन्त्र र गणतन्त्र माथि नै अनास्था र अविश्वास हुने हिसाबले चर्चा परिचर्चा गर्ने गरेको बताएका हुन् ।

लोकतन्त्रले केही दिएन, बरु यो भन्दा राजतन्त्र नै ठिक थियो भन्ने हिसाबले समेत प्रचार गर्ने प्रयत्न भएको उनको भनाइ छ । राजावादी र मण्डलेहरूले जे भनिरहेका छन् त्यो सही हो कि होइन भन्ने कुरा व्यवहारिक हिसाबमा हेर्नुपर्नेमा उनले जोड दिए । ‘लोकतन्त्रले नेपाली समाज परिवर्तनको लागि ठुलो सहयोग गरेको छ, तर त्यो कुरा हामीले जनताको माझमा जुन हिसाबले पुर्‍याउनु पर्ने थियो, त्यस हिसाबले पुर्‍याउन सकेका छैनौँ’, उनले भने ।

उनले पञ्चायतको अवधिमा निर्माण भएको अर्थतन्त्रको आकार र अहिलेको अर्थतन्त्रको आकार, नेपालीको विगतको र अहिलेको प्रतिव्यक्ति आय, आर्थिक, सामाजिक विकासलाई तुलना गरेर हेर्न आग्रह गरेका छन् । तै पनि राजावादी मण्डलेहरूले लोकतन्त्र र गणतन्त्र माथि प्रहार गरिरहेका भन्दै उनले आलोचना गरे ।

नेपालमा वामपन्थीले सरकारको नेतृत्व गर्दा के कुरा फरक भयो भन्ने कुरा पनि तुलना गरेर हेर्न पोखरेलले आग्रह गरेका छन् । नेपालको आर्थिक, सामाजिक विकास , पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य हरेक क्षेत्रमा एमाले नेतृत्वमा हुँदा निक्कै सुधार भएको पोखरेलले बताए । ‘नेपाली समाज हिजोको तुलनामा सकारात्मक बाटोमा जाँदै छ’, उनले भने ।

नेपालको आर्थिक विकासमा एमालेले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै उनले जब एमाले सरकारबाट हट्छ तब देश आर्थिक संकटमा पर्ने गरेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा हुँदा नेपालले उच्चतम आर्थिक वृद्धिदर हासिल गरेको उनले दाबी गरे । कोभिड महामारीको समयमा समेत नेपालको अर्थतन्त्रले तुलनात्मक रूपमा कम क्षति बेहोरेको पोखरेलले बताए । ‘नेकपा एमालेले आर्थिक, सामाजिक विकासमा सदैव सकारात्मक र प्रभावकारी भूमिका खेलेको छ’, उनले भने ।

यति हुँदा हुँदै पनि अहिले एमाले माथि भइरहेको चौतर्फी घेराबन्दी र आक्रमणको कारण के हो भन्ने कुरा बुझ आवश्यक रहेको पोखरेलले बताए । राजावादी मण्डले, माओवादी, रास्वपा लगायतले एमाले विरुद्ध सुनियोजित रूपमा आक्रमण गरिरहेका पोखरेलले स्पष्ट पारेका छन्। हिजो सत्तामा जानको लागि एमालेका अध्यक्षको निवासमा धाउनेहरू नै आज एमाले विरुद्ध प्रहारमा उत्रिएका उनले स्पष्ट पारे । ‘हाम्रो पार्टी र हाम्रो नेतृत्व माथि संगठित रूपमा आक्रमण भइरहेको छ, एमालेलाई कमजोर पार्दा मात्र आफ्नो भविष्य सुरक्षित हुन्छ भनेर अहिले उनीहरू एमालेलाई कमजोर बनाउने मिसनमा लागेका छन्’, उनले भने ।

नेपाललाई आफ्नो क्रिडास्थल बनाउन चाहने अन्तर्राष्ट्रिय शक्तिले पनि एमाले माथि प्रहार गरिरहेका पोखरेलको दाबी छ । ‘एमाले जस्तो देशभक्त पार्टी नेपालमा हुँदैन थियो भने नेपाल अन्तर्राष्ट्रिय क्रिडास्थल बन्थ्यो’, पोखरेलले भने । पोखरेलले राज्यलाई कमजोर बनाएर देश र नागरिक कहिल्यै पनि बलिया हुन नसक्ने बताए । बलियो राज्यले मात्र देश र जनताको सुरक्षा गर्न सक्ने कुरालाई भुल्न नहुने उनको धारणा छ ।
पोखरेलले बाहिरको कुरा गरिरहँदा पार्टी भित्रै पनि केही समस्या रहेको बताएका हुन् । पार्टी भित्र पनि अराजकतावाद र अवसरवाद मौलाउँदै गएको धारणा पोखरेलले राखे । म भए ठिक अरू भए छाड्दिन भन्ने धारणा पार्टीका नेता कार्यकर्तामा बढ्दै गएको बताउँदै उनले यो पार्टी र देशको लागि घातक हुने बताए ।

मसिन २०८४ नेकपा (एमाले) को अबको लक्ष भएको बताउँदै पोखरेलले मिसन २०८४ बाट एमालेले एकल बहुमतको सरकार बनाउनु पर्नेमा उनले जोड दिए । अब धेरै दल होइन बलिया राजनीतिक दल देशलाई आवश्यक परेको उनले स्पष्ट पारेका छन् । अहिले दुईवटा दल मिलेर सरकार चलाइ रहँदा एकल सरकार चलाए जस्तो सहज नभएको उनले बताए । संयुक्त सरकार चलाउनु पर्दा आफ्ना विचार र दृष्टिकोण पूर्णरुपमा लागु गर्न नसकिने उनले स्पष्ट पारे ।

प्रचण्डले एमाले कांग्रेससँग छलछाम गरेको कारण दुई ठुला पार्टी मिलेर सरकार बनाउनु परेको उनले बताएका हुन् । यसले साना पार्टीको ठुला पार्टी माथिको रजाइँ अन्त्य भएको पोखरेलले स्पष्ट पारे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया