श्रावण ५, २०८२ सोमबार July 21, 2025

पूर्वराष्ट्रपतिको चीन भ्रमण फलदायी र उपलब्धिमुलक : मन्त्री भण्डारी

चीन–नेपालबिचमा विगतमा भएका समझदारी एवं सम्झौता कार्यान्वयनका विषयमा पनि छलफल भएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण पूरा गरी सोमबार स्वदेश फिर्ता भएकी छन् । उनी सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएकी हुन् ।

उनी जेठ १ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा गएकी थिइन् । उनसँगै नेकपा (एमाले) विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी लगायत रहेका थिए ।

पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण फलदायी र उपलब्धिमुलक रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताए । मन्त्री भण्डारीका अनुसार भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपति हान चेङ, सिपिसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ लगायत उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेकी थिइन् ।

भ्रमणका क्रममा चीन–नेपालबिचको द्विपक्षीय सहयोग आदानप्रदान, सांस्कृतिक सम्बन्ध, अर्थ कुटनीति लगायतका विषयमा छलफल भएको मन्त्री भण्डारीले बताए । उनले चीन–नेपालबिचमा विगतमा भएका समझदारी एवं सम्झौता कार्यान्वयनका विषयमा पनि छलफल भएको तथा चिनियाँ पक्षले विगतमा भएका समझदारी कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरेकाे जानकारी दिए ।

मन्त्री भण्डारीले भने, “सम्माननीय पूर्वराष्ट्रपतिज्युले सभामा मुख्य वक्ताको रूपमा सम्बोधन गर्नुभयो । हाम्रा साझा भावहरु अन्तर्राष्ट्रिय समुदायमा सम्प्रेषण गर्ने एउटा महत्वपूर्ण फोरमको रुपमा रह्यो । त्यसैगरी चिनियाँ पक्षबाट सम्माननीय पूर्वराष्ट्रपतिज्यूलाई न्यानो आथित्यतासहितको उच्चस्तरको भेटवार्ता पनि भयो । चीनका उपराष्ट्रपतिज्यू, चिनियाँ कँग्रेसका उपाध्यक्षज्यु, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका विभाग प्रमुखज्यु लगायत उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ताहरू भयो ।”

उनले नेपाल–चीनबिचको पुरानो सम्बन्ध र मित्रतालाई अझ सुदृढ गर्ने र कतिपय हाम्रा दुई देशबिचका साझा मान्यताहरू, समझदारी र सम्झौताहरू समेत पुर्नताजगी गर्ने भ्रमणका रूपमा रहेकाे बताए ।

“यसले हाम्रा सांस्कृतिक सम्बन्ध, आर्थिक कुटनीतिहरूका विषयमा समेत छलफल आदान प्रदान भयो । विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्ने विषयमा समेत प्रतिबद्धता व्यक्त भएको छ,” उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया