असार २१, २०८२ शनिबार July 5, 2025

‘टिबी स्मृति प्रथम यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता’ सुरु

मधेसका लागि सलमान अलि मनसुरीले सर्वाधिक ४२ रन बनाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कर्णाली, १९ जेठः नेपाल क्रिकेट सङ्घका पूर्ववरिष्ठ उपाध्यक्ष स्व तारिणीविक्रम (टिबी) शाहको स्मृतिमा ‘टिबी स्मृति प्रथम यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता’ सुरु भएको छ ।

जेठ ३१ गतेसम्म हुने प्रतियोगिता कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर रङ्गशालामा आजदेखि सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गर्दै खेल क्षेत्रले नवीन प्रतिभा जन्माउने र खेलाडीको विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले खेलकुदको विकासले कर्णालीको पर्यटन प्रवर्द्धन, आर्थिक वृद्धि र पहिचान कायम गर्न सघाउने जनाउनुभयो ।

कर्णालीमा पहिलोपटक आयोजना भएको १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पहिलो दिन कोशी र सुदूरपश्चिमबीच प्रतिस्पर्धा भयो । पूर्वको कोशी प्रदेशले सुदूरपश्चिमलाई हराउँदै जितको रेकर्ड बनाएको छ । पहिलो खेलमा सुदूरपश्चिममाथि सात विकेटको फराकिलो जित निकाल्दै कोशीले प्रतियोगिताको पहिलो जित हात पारेको हो ।

टस जितेर फिल्डिङ रोजेको कोशीले बलिङ र फिल्डिङ दुवैमा नियन्त्रण राख्दै सुदूरपश्चिमको टोलीलाई जम्मा १८ ओभर ३ बलमा अलआउट गराउँदासम्म १९ रन अतिरिक्तसहित जम्मा १०१ रन जोड्ने मौका दियो । सुदूरपश्चिमका लागि २२ बलको सामना गरेका अविरल विकले चार चौकासहित २८ रनको योगदान दिँदा विक्रम बोहोराले ३० बलमा उत्तिकै बाउण्ड्रीसहित २० रन जोड्नुभयो । अन्य कुनै ब्याटरले दोहोरो अङ्कको आँकडा छुन नसक्दा कोशीले सजिलो लक्ष्य पायो ।

कोशीका लागि निकै किफायती र प्रभावकारी सावित भएका राजीव महतोले पाँच ओभर तीन बलमा तीा दशमलव ८२ को औसतमा २१ रन खर्चिएर पाँच विकेट लिनुभयो । निकै अनुशासित बलिङ गर्नुभएका महतोले २३ डट खेल्दा दुई ओभरको ‘मेडन मेन्टेन’ गर्नुभयो ।

बलिङ र फिल्डिङलाई जितको बलियो आधार बनाएको कोशीका लागि हरेराम सिंहले तीन र सुयोग भट्टाराईले एक विकेट लिँदै सुदूरपश्चिमलाई पहिलो जितबाट रोक्नुभयो । १०२ रनको सहज लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोशीको पहिलो जितमा शिवांश बजगाईंको ३४ रनको पारी महत्वपूर्ण बन्यो । २६ बल खेलेका शिवांशले छ चौका हान्दा उहाँलाई पछ्याएका ‘प्लेयर अफ दि म्याच’ राजीव महतोले नटआउट ३० रन बटुलेर टोलीको जित सहज बनाउनुभयो । ५९ रन खेलेका महतोले ५० को औसतमा चार चौकासहितको व्यक्तिगत ‘स्कोर’ खडा गर्नुभएको थियो । त्यसपछि घरेलु टोली कर्णाली र पाहुना टोली मधेस प्रदेशबीचको खेल कालुङचोक मैदानमा जारी रहेको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको मधेसले निर्धारित ५० ओभरको खेलमा ४७ ओभरसम्ममा सबै विकेट गुमाएर २१४ रन बनाएको छ । मधेसका लागि सलमान अलि मनसुरीले सर्वाधिक ४२ रन बनाउनुभयो भने सन्तु मण्डलले २८ रनको योगदान दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया