काठमाडौँ । गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोनाको सङ्क्रमण देखा परेको छ ।
सो नाका हुँदै फर्केका पाँच महिलाको आज ‘एन्टिजेन’ परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको हो । ती मध्ये तीन जना कैलाली र दुई जना अछामका हुन् ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार भारतबाट फर्केका शंकास्पद ३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
कोरोना सङ्क्रमित पाँचै जनालाई ‘होम क्वारेण्टाइन’मा बस्न परामर्श दिइएको छ । दुई दिनअघि मात्रै यही नाका भएर भारतबाट आएका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
तीन दिनमा भारतबाट फर्केका आठ जनामा कोरोना संक्रमण देखा परेको सूचना अधिकारी जोशीले जानकारी दिए । संक्रमितहरुमा ज्वरो र रुघाखोकीको समस्या रहेको उहाँको भनाइ छ ।
एन्टिजेनको नतिजा पोजेटिभ आएका आठै जनाको नमुना काठमाडौँस्थित प्रयोगशालामा पठाइएको छ । आपत्कालीन सञ्चालन केन्द्रले सीमा नाकामा तीन दिनदेखि ‘हेल्थ डेस्क’ राखेर कोरोना परीक्षण गर्दै आएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया