काठमाडौं, जेठ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कीर्तिपुरस्थित अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा निर्माणाधीन प्यारापेट र फ्लडलाइट जडानको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले निर्माण कार्यलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि पहिलो निर्णयस्वरूप गत असार ३१ गते उक्त क्रिकेट मैदानमा ३०० दिनभित्र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्यारापेट र फ्लडलाइट जडान गरिने घोषणा गरेका थिए। उनले यस आयोजनालाई उच्च प्राथमिकता दिँदै नियमित अनुगमन र निर्देशन गर्दै आएका छन्।
प्रधानमन्त्रीको निरीक्षणका क्रममा उपप्रधानमन्त्री प्रकाशमान सिंह, शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठ, निर्माण व्यवसायी तथा सम्बन्धित प्राविधिक अधिकारीहरूको उपस्थिति थियो। उनीहरूले प्रधानमन्त्रीलाई हालसम्मको कार्य प्रगतिबारे विस्तृत जानकारी दिएका थिए।
यसअघि वैशाख २२ गते प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्बन्धित अधिकारीहरूलाई बोलाएर निर्माण कार्यको प्रगतिबारे छलफल गर्दै आगामी दुई महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिएका थिए।
प्यारापेट निर्माण र फ्लडलाइट जडान कार्यका लागि दुई फरक ठेकेदार कम्पनीसँग सम्झौता गरिएको छ। प्यारापेट निर्माणका लागि गत पुस १९ गते र फ्लडलाइट जडानका लागि पुस २२ गते सम्झौता गरिएको हो। अहिले दुबै कम्पनीले आआफ्नो क्षेत्रमा निर्माण कार्य अगाडि बढाइरहेका छन्।
सरकारले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको पूर्वाधारसहितको खेलमैदान बनाउने उद्देश्यले प्यारापेट र फ्लडलाइट निर्माणमा प्राथमिकता दिएको हो। निर्माण सम्पन्न भएसँगै यस मैदानमा दिन तथा रात दुबै समयमा अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न सकिने छ, जसले नेपालमा क्रिकेटको विकासमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया