काठमाडौंः मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले विद्यावारिधि (पीएचडी) तहमा अध्ययन गर्न आउने सम्पूर्ण विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्तिसहित मासिक शैक्षिक भत्ताको व्यवस्था गर्ने घोषणा गरेको छ।
मकवानपुरको चितलाङमा अवस्थित विश्वविद्यालयले आउँदो नोभेम्बरदेखि सुरु हुने शैक्षिक सत्रका लागि विद्यावारिधि तहमा भर्ना खुला गर्दै यस्तो व्यवस्था ल्याएको हो। विश्वविद्यालयले पीएचडी तहमा भर्ना हुने विद्यार्थीलाई तीन वर्षसम्म मासिक २० हजार रुपैयाँ शैक्षिक भत्ता दिनेछ।
विश्वविद्यालयले अप्लाइड साइन्स सङ्कायअन्तर्गत विद्यावारिधि तहमा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई), अर्गानिक एग्रिकल्चर, फरेस्ट बायोमटेरियल साइन्स एन्ड इन्जिनियरिङ, सस्टिनेबल एन्ड रेजिलियन्स इन्फ्रास्ट्रक्चर गरी चार विषयमा आवेदन आह्वान गरेको छ।
यस्तै, स्नातकोत्तर (मास्टर्स) तहमा भने अर्गानिक एग्रिकल्चर, फरेस्ट बायोमटेरियल साइन्स एन्ड इन्जिनियरिङ, र सस्टिनेबल एन्ड रेजिलियन्स इन्फ्रास्ट्रक्चर गरी तीन विषयमा भर्ना खुलाइएको छ। स्नातकोत्तर तहका विद्यार्थीका लागि एक सेमेस्टरको शुल्क ७५ हजार रुपैयाँ निर्धारण गरिएको छ।
विश्वविद्यालयका उपप्राध्यापक डा. राजिव सुब्बाका अनुसार स्नातकोत्तर तहमा भर्ना हुने विद्यार्थीलाई पनि २५ प्रतिशतदेखि १०० प्रतिशतसम्म छात्रवृत्ति दिइनेछ। प्रत्येक विषयमा दुई/दुई जना विद्यार्थीले पूर्ण छात्रवृत्तिसहित दुई वर्षका लागि मासिक १२ हजार रुपैयाँ शैक्षिक भत्ता प्राप्त गर्नेछन्।
अध्ययन गर्न इच्छुक विद्यार्थीले आउँदो असार २० गतेभित्र आवेदन दिनुपर्नेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया