बबई (बर्दिया), असार २ । अत्याधिक गर्मीका कारण बर्दिया जिल्लाको सदरमुकाम गुलरिया नगरपालिकाअन्तर्गत रहेका सामुदायिक र संस्थागत विद्यालयहरु तीन दिनका लागि बन्द गरिने भएका छन्। गुलरिया नगरपालिकाले असार २ देखि ४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेपछि नगरभित्रका ५८ वटा विद्यालय बन्द हुने भएका हुन्।
पछिल्ला केही दिन यता तापक्रम अत्याधिक बढ्दै गएपछि विद्यार्थीहरूलाई विद्यालय आउजाउ गर्न गाह्रो भएको र अभिभावकहरूले समेत विद्यालय बन्द गरिदिन अनुरोध गरेपछि यस्तो निर्णय गरिएको नगर प्रमुख मुक्तिनाथ यादवले जानकारी दिनुभयो।
शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सतिस यादवका अनुसार हाललाई तीन दिनको बिदा घोषणा गरिएको भए पनि मौसममा सुधार नभए बिदा थपिन सक्ने छ।
गुलरिया नगरपालिकाका नगर प्रमुखसहितको टोलीले आइतबार केही विद्यालयको स्थलगत अनुगमन गरेपछि विद्यालय बन्द गर्ने निर्णय लिएको जानकारी नगरपालिकाले दिएको छ।
हाल बर्दियामा गर्मी चर्किंदै गइरहेको छ र तापक्रम ४४ डिग्री सेल्सियससम्म पुगेको जनाइएको छ। यस्तो अत्यधिक गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि सावधानी अपनाउँदै विद्यालय बन्द गरिएको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया