काठमाडौं, असार ४ । नेकपा (एमाले) को भावी नेतृत्वको सम्भावित प्रतिस्पर्धालाई लिएर चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार साँझ बालुवाटारमा भेटवार्ता भएको छ। पछिल्लो समय दुई नेताबीचको सम्बन्धमा तिक्तता आएको चर्चा भइरहेका बेला भएको यो भेटलाई राजनीतिक वृत्तमा विशेष चासोको रूपमा हेरिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा हालको समसामयिक राजनीतिक परिस्थिति, एमाले पार्टीभित्रको आन्तरिक अवस्था तथा भावी रणनीति लगायतका विषयमा छलफल भएको स्रोतको दाबी छ । स्रोतका अनुसार छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
भेटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले हालै सम्पन्न आफ्नो चीन भ्रमणका अनुभव र त्यहाँ भएका भेटवार्ता तथा राजनीतिक अवलोकनसम्बन्धी प्रधानमन्त्री ओलीलाई जानकारी गराएकी थिइन्।
हालै एमालेभित्र नेतृत्व चयन, रणनीतिक झुकाव तथा पूर्वराष्ट्रपति भण्डारीको सम्भावित सक्रिय राजनीतिमा पुनः प्रवेशबारे विभिन्न कोणबाट टीकाटिप्पणी भइरहेको छ । यस सन्दर्भमा प्रधानमन्त्री ओली र भण्डारीबीचको भेटलाई धेरैले नेतृत्व प्रतिस्पर्धासँग जोडेर हेरेका छन्। तर दुवै नेताले भेटमा सार्वजनिक भइरहेका विवादहरू यथार्थभन्दा बढी अङ्कित भएको बताईएको छ।
एमालेका केही नेताहरूले यस भेटलाई पार्टीभित्रको सम्भावित भ्रम चिर्ने र सहमतिको आधार बनाउने सकारात्मक प्रयासका रूपमा लिनुपर्ने टिप्पणी गरेका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कने सम्भावनाबारे खुलेर केही नआए पनि पछिल्ला भेटघाट र राजनीतिक क्रियाकलापले राजनीतिक वृत्तमा निकै चर्चा थपिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया