पाटन (ललितपुर), ५ असारः विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता विषयमा प्रथम राष्ट्रिय सम्मेलन शुक्रबार ललितपुरमा हुने भएको छ ।
‘दिगो खुसीका लागि स्वरुपान्तरण’ विषयवस्तुमा आधारित रहेर विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता विषयमा प्रथम राष्ट्रिय सम्मेलन गर्न लागिएको काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापक एवं सम्मेलनका संयोजक डा श्रीकृष्ण वाग्लेले जानकारी दिनुभयो ।
“विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता विषयमा नीतिगत तहबाट पैरवी गर्ने उद्देश्यले पहिलो सम्मेलन आयोजना गरिँदै छ, अहिलेको सन्दर्भमा विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यताका विषयमा छलफल, बहस र पैरवीका माध्यमबाट नीतिगत व्यवस्थाका लागि पहल गर्नु अनिवार्य भएको छ”, उहाँले भन्नुभयो ।
विद्यालय मनोविमर्शमा सामाजिक आरोग्यतालाई ध्यान दिएर आयोजना हुने यस सम्मेलनमा सामाजिक अभियन्ता, विद्यालय सञ्चालक, विद्यार्थीलगायत १२५ जनाभन्दा बढीको सहभागिता रहने काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक माधव खतिवडाले जानकारी गराउनुभयो । काठमाडौँ विश्वविद्यालयका मनोपरामर्शदाता रासिका पोखरेलका अनुसार शिक्षालाई मनोसामाजिक परामर्शका क्षेत्रमा जोड्न आवश्यक छ ।
सम्मेलनमा अनुसन्धानबाट तयार पारिएका आठ कार्यपत्रमाथि छलफल हुनुका साथै समूहगत छलफल हुने जानकारी दिइएको छ । नेपालका सन्दर्भमा यस सम्मेलनका माध्यमबाट विद्यालय मनोविमर्श, मानसिक, सामाजिक तथा भावनात्मक आरोग्यता सम्बन्धमा नयाँ बहसको सुरुआत हुने बताइएको छ । यी विषयमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन स्कुल काउन्सिलिङ एण्ड साइकोलोजिकल वेलविङ युनिटमार्फत स्नातकोत्तर एक वर्षे तथा दुई वर्षे, दर्शनाचार्य तथा विद्यावारिधिका कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी गराइएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया